म्याग्दी खण्डको काम सुस्त

  • २१ मंसिर २०७९, बुधबार
  • धिरन खत्री
  • 455 पटक पढिएको

 

 

म्याग्दी, २१ मंसिर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा कामअघि बढाएको थियो ।


भौतिक पूर्वाधार मन्त्रालयले बेनी–जोमसोम सडकको कालोपत्रे गरी काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समय सीमा दिएको छ । गलेश्वरदेखि–नारच्याङपुलसम्मको २० किलोमिटर सडक ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङपुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माण कार्यलाई ढिलासुस्ती गरेको छ ।
२०७४ जेठमा ६३ करोड ५२ लाखमा र २०७६ मंसिरमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको यस कम्पनीले पटक–पटक म्याद थपे पनि काम गर्न सकेको छैन । गलेश्वरदेखि–नारच्याङसम्मको २० किलोमिटर सडकको प्रगति ७० प्रतिशत र नारच्याङदेखि कैकुखोलासम्मको प्रगति ६५ प्रतिशत भएको जनाए पनि म्याग्दी मुस्ताङ आउने पर्यटकले त्यो अनुभूति गर्न पाएका छैनन् । निर्माण कम्पनीले हिउँदयामको समयमा म्याग्दी खण्डको काममा पर्याप्त मजदुर र उपकरण कार्यक्षेत्रमा परिचालन गरेका छैनन् ।
निर्वाचनपछि म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कैकुखोलासम्मको दुई खण्डमा निर्माण कम्पनीले अहिले काम गरिरहेको छ । निर्माण कम्पनीले आगामी असारसम्ममा काम सिध्याउने योजनासहित उपकरण र जनशक्ति परिचालन गरी सडक निर्माणलाई तीव्रता दिएको छैन, जनशक्ति र उपकरण बढाउन बारम्बार ताकेता गरिरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका योजना प्रमुख जगत प्रजापतिले बताए ।
त्यस्तै बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशन गरिएको छ । यही २३ मंसिरमा टेण्डर सार्वजनिक गरिने योजना प्रमुख जगत प्रजापतिले बताए । त्यस्तै यस सडक खण्डअन्तर्गत बेगखोलामा समयमै पुल नबन्दा पर्यटकले जोखिम मोलेर खोलामा यात्रा गर्नुपर्ने बाध्यता छ । बेनीदेखि जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको अलपत्र सडक र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिंगो मुस्ताङ जिल्लाबासी र यस क्षेत्रको भ्रमणमा आउने पर्यटकले समेत सास्ती बेहोर्दै आएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l