बेनी बजारमा रहेका पुराना चौतारीहरुको संरक्षण (तस्बिर/भिडियाे)

  • २१ मंसिर २०७९, बुधबार
  • कमल खत्री
  • 817 पटक पढिएको

कमल खत्री
बेनी, २१ मंसिर । जिल्ला सदरमुकाम समेत रहेको बेनी बजारमा रहेका चौतारीहरुको संरक्षण गर्न थालिएको छ । बेनी नगरपालिका– वडा नम्बर ७ को अगुवाईमा वडाभित्र रहेका चौतारीहरुको संरक्षण थालिएको हो । स्थानीयबासीले भारी बिसाउने र बटुवाले थकान मेटाउनका लागि पुन्य र धर्मको लागि परम्परागत रुपमा बनाइएका चौतारीहरु जिर्ण अवस्थामा पुगेपछि संरक्षण गर्न अभियान नै चलाइएको छ ।

वडाभित्र १७ वटा चौतारी र एक पोखरी रहेको र तीनीहरुको अवस्था जिर्ण बन्न थालेपछि संरक्षण अभियान थालिएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार, एक बर्षको अवधिमा चार वटा चौतारीहरुको संरक्षण र पुननिर्माण गरिएको छ । नगरपालिका कार्यालयको प्रवेशद्धारमा रहेको चौतारीको पुननिर्माण संगै चिटिक्क देखिएको छ ।
स्वामीको बोटमुनीको उक्त चौतारी जिर्ण बनेको थियो । चौतारीको सिँढी मर्मतसंगै अगाडीको भागमा म्याग्दीका पर्यटकीय स्थलहरुको पहिचान झल्कने होडिङ बोर्ड समेत राखिएको छ । चौतारीको एक भागमा सडकमा छोडिएका गाईहरुले पानी खाने ठाउँ समेत बनाइएको छ । पक्की चौतारीमा ढुंगा छपाएर मौलिकता दिने वडा कार्यालयले योजना बनाएको छ ।
स्थानीयबासी र पैदलयात्रीलाई शीतलता र विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गर्न थालिएको हो । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले रु नौ लाख ५० हजार विनियोजन गरेको र सो बजेटबाट तीन वटा चौतारी र एक विश्रामस्थल पुननिर्माण तथा मर्मत गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका अगाडी दिवंगत भैसक्नुभएका किर्तिकुमार श्रेष्ठ, बेनी सामुदायिक अगाडी तुलबहादुर शाक्य र दोभानमा चन्द्रशेखर श्रेष्ठले चौतारा र नरबहादुर बानियाँले दोभानमा मलामी विश्रामस्थल बनाउनुभएको थियो । तत्कालिन समयमा चौतारा बनाउने व्यक्तिहरु दिवंगत भैसकेकाले उहाँहरुको आफन्त र घरपरिवारसंग समन्वय गरेर जिर्ण बनेका चौतारीहरुलाई पुर्नजिवित गर्ने काम गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिसकिएको छ । दिवंगत चनकुमारी श्रेष्ठले रोप्नुभएको उक्त पीपलको रुख भएको चौतारीमा पूजा गर्न र बत्ती बाल्न समेत सहजता मिलाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको चौतारीमा समेत पुजाआजा र तर्पण दिन सहज होस भनेर फराकिलो चौतारी बनाइएको छ ।
बेनपा–७ को खोरियामा पुरिएको परम्परागत पोखरीलाई समेत डिभिजन वन कार्यालय र बराहपाखो सामुदायिक वन उपभोक्ता समितिसंगको सहकार्यमा उत्खनन् गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ । चौतारी बनाएका दातासँग समन्वय गरेर वडा कार्यालयले जिर्ण अवस्थामा रहेका सबै धर्म चौतारीहरुको मर्मत र संरक्षण गर्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । धर्म र पुण्यका लागि चौतारा बनाउने, बर पिपल रोप्ने र पोखरी खन्ने चलन अझै रहेको छ । परम्परागत रुपमा बर्षौ अघि बनाएका संरचनाहरु जिर्ण बनेर भत्कने अवस्थामा पुगेका छन् । सडक सञ्जालको पहुँच विस्तार संगै चौतारीहरु मासिन थालेका हुन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l