बेनीमा हुने जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

  • १८ मंसिर २०७९, आईतवार
  • 417 पटक पढिएको

म्याग्दी १७ मंसिर । यही मंसिर २१ गतेदेखि २५ गतेसम्म बेनीस्थित खुल्लामञ्चमा संचालन हुने २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको “गौमती खत्री विकास कोष जेसिज कप फूटवल प्रतियोगिता २०२२” को तयारी पुरा भएको आईतबार पत्रकार सम्मेलन गरी म्याग्दी जेसिजले जानकारी गराएको छ ।


मंसिर २० गते उद्घाटन हुने प्रतियोगिताको पुरस्कार ब्यवस्थापन, खुल्लामञ्चको खेलमैदान मर्मत, विद्यालयलाई पत्राचार लगायतकोकामहरु १७ वटा उपसमितिहरुबाट तयार गरिएको प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिज अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगितामा २० देखि २२ विद्यालयको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताका मुल संयोजक बानियाँले बताउनुभयो ।

खेल खेल्ने क्रममा घाईते हुने खेलाडीको उपचारका लागि म्याग्दी जेसिजले दुर्घटना विमा समेत गरेको छ। पत्रकार सम्मेलनमा जेसिजका पुर्व अध्यक्ष, कार्यसमितिका सदस्य लगायतको उपस्थित रहेको थियो ।