मालढुंगा–बेनी सडक खण्ड अलपत्र

  • १८ मंसिर २०७९, आईतवार
  • 729 पटक पढिएको

बेनी, १८ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक आयोजना अलपत्र बनेको छ । ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिना अघिसम्म काम गरेको ठेकेदार सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । १३ किलोमिटर लामो यो खण्डमा म्याग्दीको बेनीदेखि छुटेका सवारीसाधन मालढुंगा पुग्न डेढ घण्टा समय लाग्ने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले सडकको दुरावस्थाका कारण घण्टौंसम्म जाममा फस्नुपरेको गुनासो गरेका छन् । वर्षात्का समयमा सडक मािथबाट खसेको पहिरो, खाल्डाखुल्डी र अस्तव्यस्त तरिकाले छाडिएका निर्माण सामग्रीका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाको २०७७ चैतमा ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ५२ करोड ८६ लाखमा ३१ हजार दुई सय ८१ रुपैयाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

निर्माणको जिम्मा लिएको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले अघिल्लो वर्ष सडक स्तरोन्नति थालेको थियो । पछिल्लो समय ठेकेदारका बीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताइन् । ठेकेदारका बीच एकआपसमा विवाद उत्पन्न हुँदा योजना प्रभावित बनेको उनको भनाइ छ ।

‘ठेकेदारसँग गत आइतबार छलफल गरेका छौं’, इन्जिनियर पन्तले भने, ‘दुई चार दिनभित्रमा सडक मर्मत थाल्ने, एक हप्ताभित्र मजदुर र उपकरणसहित कार्यस्थलमा परिचालन हुने ठेकेदार कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।’ आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ ।आगामी २०७९ को चैत मसान्तसम्म योजना सम्पन्न गर्नेे आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदारले ढिलासुस्ती गर्दा समयमै योजना सम्पन्न हुने देखिँदैन । ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा उल्लेख छ ।