माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा

  • १८ मंसिर २०७९, आईतवार
  • 436 पटक पढिएको

 

म्याग्दी, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका कमिटिका पदाधीकारीहरुबीच चुनावको समिक्षा र भावी योजनाका विषयमा छलफल गरेको हो ।

गठबन्धनबाट उम्मेद्वार बन्नुभएका माओवादीका हरि बहादुर भण्डारी म्याग्दी क्षेत्र (क) र रेशम बहादुर जुग्जाली (सुविन) क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा तथा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको थियो ।  बैठकमा सहभागी नेताहरुले विजयी उमेद्वारहरुलाई बधाई, मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै संगठन निर्माण, रचनात्मक र सिर्जनशिल काम गरेर पार्टी र नेतृत्वलाई जनतासमक्ष स्थापित गराउनुपर्ने बताएका थिए ।

निर्वाचित सांसदहरुलाई तल्लो तहका नागरिकको आवश्यकता, समस्या सम्बोधन गर्ने जनमैत्री कानुन र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेताहरुले सुझाव दिएका छन् । म्याग्दीमा गठबन्धनमा इमान्दारिता र प्रभावकारी भएको नेताहरुको निष्कर्ण थियो । प्रदेश सरकारमा माओवादी सहभागी हुने अवस्थामा म्याग्दीका जनप्रतिनिधिलाई मन्त्री बनाउन माथिल्लो कमिटिसँग माग गरेका छन् ।

माओवादी केन्द्रका गण्डकी प्रदेश सचिव जगन्नाथ खनालले देश र प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा गठबन्धन प्रभावकारी, इमान्दार भएको र उत्कृष्ट नतिजा आएको बताए । ‘म्याग्दीको पार्टी कमिटिले जुन सुझबुझपूर्ण निर्णय लिएर माओवादीलाई जित दिलायो त्यसको मूल्याङ्कन प्रदेशबाट पक्कै हुन्छ,’ उनले भने ‘अवसर पाउने विषयमा प्रदेश कमिटिले म्याग्दीलाई प्राथमिकता दिन्छ ।’

म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल र प्रदेश सहसचिव टेकबहादुर विश्वकर्माले २०७४ र गत बैशाखको निर्वाचनको तुलनामा समानुपातिक मतको आधारमा म्याग्दीमा माओवादीको जनमत बढेको बताउदै त्यसको मुल्याङ्कन प्रदेश र केन्द्रिय कमिटिबाट हुने अपेक्षा गरे । प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज विनोद केसी, प्रदेश सदस्यहरु पदम पुन, रिम केसी, गौरी सेञ्चुरी, खुमनाथ सुवेदी, चन्द्रप्रसाद बुढाथोकी, विशेष प्रदेश सदस्य अर्जुन थापा, अन्नपूर्ण गाउँपालिकाका नेता बागबिर पाइजा लगायतले आगामी चुनावसम्म माओवादीको संगठनलाई एक्लै चुनाव जित्ने बनाउनुपर्ने बताए ।

नवनिर्वाचित प्रदेशसभा सदस्य जुग्जाली र भण्डारीले नीति निर्माणका लागि संसदमा प्रभावकारी उपस्थितिका साथै विकास निर्माणका सवालमा जिल्लाका नेता कार्यकर्ताहरुसँग समन्वय गरेर प्रदेश तहमा हस्तक्षेपकारी भूमिका निभाउने प्रतिवद्धता जनाए । ‘गठबन्धन, पार्टी र जनताले गरेको विश्वास र अपेक्षा पुरा गर्न प्रतिवद्ध छौ,’ सांसदद्धयले भन्नुभयो ‘अहिलेको उत्साहलाई संगठन निर्माणमा परिचालन गरौ । म्याग्दीको विकास निर्माण, सेवा प्रवाहको सवालमा सहकार्य गर्दै नयाँ तरिकाले अघि बढ्छौ ।’