गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

  • १४ मंसिर २०७९, बुधबार
  • 481 पटक पढिएको

म्याग्दी १४ मंसिर । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट एवम् म्युजिकल टुर हुन लागेको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा सामान्य परिवारमा जन्मिएका प्रकाश सुनार गोल्डेन आइडलको गायनतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल भएका छन् । देशभरका ३०० प्रतिस्पर्धीहरुले सहभागीता जनाएको उक्त प्रतियोगिताको विभिन्न चरणको प्रतिस्पर्धाबाट गायक सुनार उत्कृष्ट ५ भित्र परेर फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका कलाकारहरुको गृहजिल्लामा हुने कन्सर्टको खर्च समेत स्वयम कलाकार पक्षकै स्थानीय व्यवस्थापकले जुटाउनुपर्ने भएकाले यतिबेला सुनार आगामी शनिवार हुने कन्सर्टको व्यवस्थापकीय खर्च जुटाउने चटारोमा छन् ।

‘‘बेनीमा होटलमा काम गरि जिविकोपार्जन गर्दै आएका सुनारको लागि यो कन्सर्ट अवसर र चुनौतीको रुपमा छ, हामीले धेरै निकाय र व्यक्तिहरुलाई कन्सर्ट सम्पन्न गराउन सहयोगको अपिल समेत गरेका छौँ’’–स्थानीय व्यवस्थापकको रुपमा रहेको क्रियटिभ मञ्च म्याग्दीका अध्यक्ष विवेक चन्दले भने । उनका अनुसार, फाइनलमा पुगेका सबैको गृहजिल्लामा सबै प्रतिस्पर्धीको लाईभ प्रस्तुती रहने र दर्शकहरुको भोटिङको आधारमा समेत विजेता घोषित हुने भएकाले पनि यस कार्यक्रमलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको साथ र सहयोगको अपेक्षा गरिएको छ ।

सानै उमेरमा बुबा गुमाएका सुनारको घरपरिवारको अवस्था दयनिय रहेको र उनको करियरमा नै महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम भएकाले यसलाई सफल बनाउन सबै म्याग्देलीहरुलाई सहयोगको अनुरोध गरिएको चन्दले बताए । होटलको मजदुरीबाट साँगेतिक करियरको क्षेत्रमा लम्कदै गरेका सुनारले आफ्नो जिवनकै महत्वपूर्ण क्षणमा लाइभ कन्सर्ट हुन लागेकाले सक्दो सहयोग गरि आफुलाई साँगेतिक यात्रामा अघि बढ्न सहयोग गरिदिन अपिल गरेका छन् ।
सहयोग एबम् अन्य थप जानकारी का लागि ९८६७७६३४०८ ( विवेक चन्द ठकुरी)
९७४८४२७५६७ ( प्रकाश बहादुर सुनार)