गण्डकी प्रदेश : जहाँ भयो साँघुरो मतान्तरको हारजित

  • १२ मंसिर २०७९, सोमबार
  • 489 पटक पढिएको

 

गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गण्डकीका प्रतिनिधिसभाको १८ मध्ये १७ र प्रदेशसभातर्फ ३६ मध्ये ३४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २ बाहेक अन्य ठाउँको नतिजा आइसकेको हो । यसमध्ये प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ ५ क्षेत्रमा साँघुरो मतान्तरको हारजित भएको छ ।


गण्डकी प्रदेशसभातर्फ स्याङ्जा १ (२) मा एमालेका सुधीरकुमार पौडेलले ६ मतले कांग्रेस उम्मेदवारलाई पराजित गरेका छन् । पौडेलले कांग्रेसका निकटतम प्रतिस्पर्धी बुद्धि रानालाई झिनो मतान्तरले हराएका हुन् । मंसिर ४ गते निर्वाचन भएर नतिजा प्रकाशन भइसकेका सबै क्षेत्र मध्ये स्याङ्जा १ (२) मा सबैभन्दा कम मतान्तरमा हार जित भएको हो । यहाँ एमालेका पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बुद्धि रानाले १७ हजार ४ सय ३५ मत ल्याए ।

५ सयको झिनो मतान्तरले हारजित हुनेमा प्रतिनिधिसभा तर्फ मनाङ रहेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले थोरै मतान्तरले जित हात पारेको हुन् । कांग्रेसका गुरुङले एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतको झिनो मतान्तरले जित हात पारेका हुन् । एमालेका गुरुङले २२ सय ४७ मत ल्याए ।

झिनो मतान्तरले जित्नेमा माओवादी केन्द्रका उम्मेदवार पनि छन् । माओवादीका म्याग्दी (२) का रेशम जुग्जालीले एमाले उम्मेदवारलाई १ सय १ मतान्तरले पराजित गरे । जुग्जालीले एमालेका यामबहादुर गर्बुजामाथि जित निकालेका हुन् । रेशमले ९ हजार ४ सय ५४ मत ल्याउँदा एमालेका गर्बुजाले ९ हजार ३ सय ५३ मत ल्याए । उनीहरूबीच १ सय १ को झिनो मतान्तर छ ।

प्रदेशसभातर्फ मुस्ताङ (२)बाट कांग्रेसका विकल शेरचन पनि झिनो मतान्तरले जित निकाले । उनले एमालेका चन्द्रमोहन गौचनमाथि जित हात पारेका हुन् । कांग्रेसका शेरचनले २७ सय २३ मत ल्याउँदा एमालेका गौचनले २५ सय ६५ मत ल्याए । उनीहरू बिच १ सय ५८ को मतान्तर छ ।

झिनो मतान्तरको हारजित हुने निर्वाचन क्षेत्रमा गण्डकी प्रदेश सभातर्फ मनाङ (१) र मुस्ताङ (१) मा पनि छ । यी दुवै स्थानमा झिनो मतान्तरले विजयी हुनेमा कांग्रेस उम्मेदवार नै छन् । हार्नेमा एमाले उम्मेदवार हुन् । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ २ सय ५० झिनो मतान्तरले विजयी भए । गुरुङले एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टमाथि जित निकालेका हुन् । नम्डुले १ हजार ४८ मत पाउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए ।

मनाङ (१) मा पनि कांग्रेस उम्मेदवार झिनो मतान्तरले विजयी भए । कांग्रेसका मुनिन्द्रजंग गुरुङले एमालेका राजनबहादुर गुरुङमाथि जित निकालेका हुन् । उनीहरूबीच ३ सय ३० को मतान्तर छ । कांग्रेसका मुनिन्द्रजंगले १२ सय ५५ मत ल्याउँदा एमालेका राजनले ९ सय २५ मत ल्याए ।