पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ आयोजना

  • ११ मंसिर २०७९, आईतवार
  • 778 पटक पढिएको

बेनी, ११ मंसिर ।  म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ आयोजना गरिएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपनि समुदायले आफै लगानी जुटाउन महायज्ञ आयोजना गरेका हुन् ।
सरकारी निकायमा निरन्तर पहल गर्दा समेत कुनै पहलकदमी नभएपछि जग्गा व्यवस्थापन र भवन निर्माण समेतको बन्दोबस्त गर्न मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिका सचिब गोविन्दप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, महायज्ञमा स्वामी प्रपन्नाचार्य देवराज सुवेदीले मुख्य कथा बाचन गर्नुहुने भएको छ । पुर्णगाउँस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिने भएको छ ।

महायज्ञबाट बचत भएको रकमलाई सामुदायिक स्वास्थ्य इकाई स्थापनार्थ परिचालन गरिने आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताउनुभयो । ‘‘सिटामोल किन्ने ठाउँ पनि छैन, बर्षौदेखि आधारभुत स्वास्थ्य उपचारको सेवा सुचारु गराउन पहल गर्दै आएका छौँ, तर अहिलेसम्म कतैबाट पनि सम्बोधन भएको छैन, अब जनता आफै जागरुक भएर लाग्नुपर्छ भन्ने उदेश्यले यज्ञ आयोजना गरेका हौँ’’–अध्यक्ष आचार्यले भन्नुभयो ।

करिब २३० घरधुरीको बसोबास रहेको पूर्णगाउँका स्थानीयबासीले अहिले प्राथमिक स्वास्थ्य सेवा लिनलाई सवा एक घण्टाको पैदल यात्रा गरि कुहुँ स्वास्थ्य चौकी र बेनी नगरपालिका–५ डडुवाको सामुदायिक स्वास्थ्य इकाईमा पुग्नुपर्ने बाध्यता रहेको छ । जिल्ला सदरमुकाम पुग्न घण्टौको यात्रा गर्नुपर्ने र गाउँमा आधारभुत स्वास्थ्य उपचारको पहुँच नहुँदा पूर्णगाउँबासीले सास्ती व्यहोर्दै आएका छन् ।