म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

  • ११ मंसिर २०७९, आईतवार
  • 2593 पटक पढिएको

मतगणना हुँदै गर्दाकाे तस्बिर ।

म्याग्दी ११ मंसिर । यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ ।

छयासी हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ अथवा ५८।७८ प्रतिशत मत खसेको थियो । कुल खसेको मत सङ्ख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिक र सुरक्षाकर्मीलगायत अस्थायी मतदाताको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजार छ ९९ मत खसेकामा ४७ हजार छ सय १४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो । प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार तीन सय ७८ मत खसेकामा ४७ हजार तीन सय ३२ मत सदर र दुई हजार छ सय ४६ अथवा ५.५९ प्रतिशत बदर भएको छ ।

सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६।५८ प्रतिशत मत बदर भएको छ । ४९ हजार चार सय ५० मत खसेकामा ४६ हजार चार सय ८० मत सदर र तीन हजार ६० मत बदर भएको छ । प्रदेशसभाको क्षेत्र ९१० मा २८ हजार सात सय आठ मत खसेकामा २७ हजार सात सय ४९ सदर र नौ सय ५९ अथवा ३.४५ प्रतिशत बदर भएको छ ।

प्रदेशसभा क्षेत्र ९२० मा २१ हजार ९६ मत खसेकामा २० हजार दुई सय ६८ सदर र सात सय ४८ अथवा ३.६९ प्रतिशत बदर भएको छ । एउटै मतपत्रमा धेरै चिह्नमा छाप लगाएको, कुनै मतपत्रमा छाप नै नलगाई बाकसमा खसालेका, दुईवटा चिह्नको बीचमा छाप लगाएको, चिह्नको घेराभन्दा बाहिर सङ्केत गरेर धेरै मत बदर भएको छ ।

प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न थिएन । चारवटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा सङ्केत गर्नुका साथै पहिलो मतपत्रमै चार ठाउँमा सङ्केत गरेका थिए । प्रत्यक्षतर्फको तुलनामा समानुपातिकको मतपत्रमा सङ्केत गर्दा मतदाताले बिगारेका गणनामा संलग्न कर्मचारीले बताएका छन् । मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरुले चुनावी तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ ।

प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको एक सय २९ वटा मतपत्र भेटिएको थियो । तीनवटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका–५ देवीस्थानको एक सय चार र रघुगङ्गा गाउँपालिका–५ झिको एकवटा मतदान केन्द्रको २५ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन ।

यद्यपि गत वैशाख र २०७४ को तुलनामा पछिल्लो चुनावमा म्याग्दीमा बदर मतको दर कम देखिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५४ हजार छ सय ७८ अथवा ६५.०२ प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ९२.४३ प्रतिशत मत सदर र ७.५७ प्रतिशत बदर भएको थियो ।

विसं २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ७५ हजार पाँच सय ३७ मतदाता रहेकामा ४७ हजार चार सय ४९ मत खसेको थियो । समानुपातिकको प्रतिनिधिसभातर्फ ४० हजार पाँच सय २६ र प्रदेशसभामा ४२ हजार छ सय १६ मत सदर भएको थियो । रासस