म्याग्दीमा प्रतिनिधिसभामा गठबन्धनका गर्बुजा निर्वाचित

  • ७ मंसिर २०७९, बुधबार
  • 882 पटक पढिएको

 

म्याग्दी, ७ मंसिर । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो ।

गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ । गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उमेद्वारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उमेद्वार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।

यसअघि वि.स. २०५६ मा म्याग्दीमा नेपाली काँग्रेसका उमेद्वार नारायणसिंह पुनले चुनाव जित्नुभएको थियो । म्याग्दीमा काँग्रेसले २३ वर्षपछि जित निकालेको हो । आइतबार भएको मतदानमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । ९ जना उमेद्वार थिए ।

 

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यसअघिनै गठबन्धनबाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ ।

¬¬