मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित

  • ५ मंसिर २०७९, सोमबार
  • 566 पटक पढिएको

म्याग्दी, ५ मंसिर ।  मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली बिजयी भएका छन् । काँग्रेसका २९ बर्षिय युवा नेता थकालीले निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका ६१ बर्षिय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पराजीत गर्दै बिजयी भएका हुन् । थकालीलाई गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थन थियो ।

 


१० हजार ९५७ मतदाता रहेको मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । निर्वाचनमा काँग्रेसका थकालीले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकट्म प्रतिस्पर्धी नेकपा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ८७ र राप्रपा नेपालका उम्मेदवारले १३ मत प्राप्त गरेको र ८८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित काँग्रेसका थकाली पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा समेत हुन् । २०७४ मा आफ्नै बुबालाइ पराजित गरेका तुलाचनलाई यस पटक योगेशले भारी मतले राजीत गरेका हुन् । ०७४ को निर्वाचनमा प्रेमले रोमीलाई४८५ मत अन्तरले हराउँदै प्रतिनिधि सभामा जित हाँसिल गरेका थिए ।

ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालन गरिरहेका छन् । उनले मुस्ताङमा किविलगायत अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ । मुस्ताङमा अहिले प्रदेश सभा सदस्य पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।