म्याग्दीमा मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु, दुर्गम गुर्जामा प्रस्थान गरे टोली
- २९ कार्तिक २०७९, मंगलवार
- 753 पटक पढिएको
म्याग्दी २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम बस्तीका मतदान केन्द्रका लागि छनौट भएका कर्मचारीहरुलाई खटाउन सुरु गरिएको हो ।
मंगलवारदेखि कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको सबैभन्दा दुर्गम र विकट मानिने धवलागिरि गाउँपालिका– १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन ।
मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचन सामग्री हस्तान्तरण गर्नुभएको थियो । दुर्गम भेगका मतदान केन्द्रमा खटिएका कर्मचारी लगायतको टोलीलाई निर्वाचन सामग्री प्रदान गरिसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सदरमुकाम बेनीदेखि देखि गुर्जा पुग्न दुईदिन लाग्ने हुँदा मंगलबार नै निर्वाचन सामग्री बुझेर मतदान अधिकृत सहितको टोली प्रस्थान गरेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । मंसिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले मंगलवार निर्वाचन सामग्री बुझेर गुर्जा तर्फ लागेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले बताउनुभयो ।
एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी र १२ जना सुरक्षाकर्मी सहित २० जना खटिएका छन् । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् । बुधवार देखि अन्य टाढाका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि निर्वाचन सामग्री सहित पठाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।