म्याग्दीमा उम्मेदवारका चुनावी सभामा देखिएन उत्साह

  • २५ कार्तिक २०७९, शुक्रबार
  • 389 पटक पढिएको

बेनी, २५ कात्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवारहरु यतिबेला चुनावी आमसभामा व्यस्त छन् । कात्तिक १७ गतेदेखि दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न र आफ्ना चुनावी प्रतिवद्धताहरु जाहेर गर्न चुनावी आमसभा सुरु गरेका थिए । प्रतिनिधिसभामा ९ जना, प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ५ र (ख) मा ६ जना चुनावी मैदानमा रहेपनि जिल्लामा रहेका राजनीतिक दलका संगठन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले यस निर्वाचनमा म्याग्दीमा मुख्य गरि सत्तारुढ काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुने देखिन्छ ।
यतिबेला उम्मेदवार र राजनीतिक दलहरु चुनावी सभाहरुमा व्यस्त छन् । एकैदिनमा ३ देखि ५ स्थानसम्म चुनावी सभामा उम्मेदवारहरुले भाग लिइरहेका छन् । चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवारहरुलाई भ्याइनभ्याई भएको छ । विहान सबेरैदेखि सुरु हुने उम्मेदवारका चुनावी सभाहरु राती अवेरसम्म पनि चल्ने गरेका छन् । तर उम्मेदवार र नेताहरुको चुनावी दौडधुप तिव्र भएपनि चुनावी सभाहरुमा भने मतदाता र कार्यकर्ताको उत्साहजनक सहभागीता देखिएको छैन् । उम्मेदवारहरुले एक दर्जन व्यक्तिहरु जम्मा भएका भेलाहरुलाई समेत चुनावी सभाको रुपमा सम्बोधन गर्नुपर्ने अवस्था छ । माथिल्लो भेगमा कोदो र पहाडदेखि वेशीका फाँटसम्म धानबाली पाकेर भित्र्याउने काममा किसानहरु व्यस्त भएपछि चुनावीसभाहरुमा सहभागीना न्युन हुने गरेको दलका नेताहरु बताउँछन् ।

विभिन्न दलका उम्मेदवार र नेताहरु गाउँमा दैनिक जसो आउने भएपनि खेतिबाली भित्र्याउने कामले विहानेदखि बेलुकिसम्म नै खेतवारीमा हुनुपर्ने भएकाले उनीहरुका कार्यक्रममा सहभागी भएर भाषण सुन्न नपाएको रघुगंगा गाउँपालिका–६ ठाडखानीका यामबहादुर छन्त्यालले बताउनुभयो ।‘‘बारीभरी कोदो पाकेको छ, सिमि पनि पाकेको छ, बर्षभरीको खाद्यान्नको जोहो गर्ने बेला हो, नेताहरुले बोलेर पुरा गर्ने पनि होइनन्, आश्वासन सुन्नलाई बाली भित्र्याउने काम छाड्ने कुरा भएन’’–वारीमा कोदो काट्दै गर्नुभएका उहाँले भन्नुभयो । यस पटक असारमा धान रोप्ने बेलामा खडेरी परेको र धानको फुल लाग्ने बेलामा भारी झरी परेको कारण धानको उत्पादन घटेको छ भने बाला समेत ढिला गरेर पाकेको छ ।

‘‘नेताहरुलाई चुनाब लागेको छ, हामीलाई के को चुनाब लाग्नु, पाँच बर्षमा आउछन सपना देखाउँछन, जान्छन्, जितेर गएपछि फर्किएर आउने होइनन्, हाम्रा आशा जस्ताको तस्तै, कति पटक सुन्ने हो एउटै कुरा’’–धवलागिरि गाउँपालिका–२ का ६१ बर्षिय तुलविर विकले गुनासो गर्दै भन्नुभयो । पटक –पटक जिताएर पठाएका प्रतिनिधिहरु गाउँको दुखसुख र समस्या बुझ्न फर्किएर नआउने गरेकाले यस पटक मतदानमा विचार पु¥याउने निचोडमा पुगेको उहाँले बताउनुभयो ।

रघुगंगा–८ कुइनेखानीका ७६ बर्षिय टिका बहादुर विश्वकर्माले नेताहरुले आश्वासन र सपना बढी देखाउने र प्रतिबद्धता पुरा नगर्ने भएकाले चुनावी सभामा भाषण सुन्न जान मन नलाग्ने गरेको अनुभव सुनाउनुभयो । ‘‘बोल्नेबेलामा गर्न बाँकी केही नराख्ने, जितेर गएपछि केही नगर्ने नेताहरुको कुरा सुन्न पहिलेको जस्तो उत्सुकता हुँदैन, अहिले नेताहरु गाउँमा आउजाउ निकै भएको छ, हामीलाई हाम्रो गाउँको मुहार फेर्ने नेता चाहिएको छ’’–उहाँले भन्नुभयो ।