मालिका र रघुगंगामा एमालेको चुनावी सभा

  • २३ कार्तिक २०७९, बुधबार
  • 493 पटक पढिएको

म्याग्दी २३ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
निस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लाको विकासका लागि कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारमा जोड दिने बताउनुभयो । उहाँले यसअघि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्ला घोषणा, रणनीतिक सडक निर्माण, उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको स्तरीकरण, विद्युत, खानेपानी, जनता आवास, विद्यालय तथा स्वास्थ्यचौकीहरुको भवन निर्माणलगायत थुप्रै कामहरु भएको बताउँदै बाँकी काम गर्नका लागि आफू चुनावी मैदानमा आएको बताउनुभयो ।
सोही सभामा प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजाले म्याग्दीको विकासमा भैरहेका योजनाको वस्तुगत समीक्षासहित आवश्यकताअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गरी अघि बढ्ने बताउँदै त्यसका लागि एमाले पार्टी र एमालेका उम्मेदवारहरुलाई भोट दिएर जिताउन मतदाताहरुलाई अपिल गर्नुभयो । यसैगरी रघुगंगाको झिँ र पाखापानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले म्याग्दीलाई समृद्ध बनाउन खासगरी जलस्रोत, कृषि, पर्यटन र पूर्वाधारको क्षेत्रमा लगानी केन्द्रीत गर्नुपर्ने बताउँदै आर्थिक समृद्धि, दीगो शान्ति र राजनीतिक स्थायित्वका लागि एमालेलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सडक तथा यातायातको व्यवस्थापन, गरिब तथा दिनदुःखीलाई आवासको व्यवस्था, कृषि तथा पशुपन्छी, भूमि व्यवस्थापन र वस्तीको विकास गर्न, पर्यटन र पूर्वाधार विकासमा जोड दिने बताउँदै खेलकुद क्षेत्रको विकास, महिला समानता र सशक्तिकरणमा जोड दिने प्रतिबद्धता जनाउनुभयो ।