भेडाहरु मर्न थालेपछि कृषकहरु समस्यामा

  • २० कार्तिक २०७९, आईतवार
  • 475 पटक पढिएको

बेनी, २० कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडखानी क्षेत्रमा भेडाहरु मर्न थालेपछि भेडापालक कृषकहरु समस्यामा परेका छन् । दुई महिनादेखि भेडाहरुले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक कृषक यामबहादुर छन्त्यालले बताउनुभयो ।

भेडाहरुमा रोगको संक्रमण देखिएपछि नमुना परिक्षणको लागि रगत निकाल्दै पशु चिकित्सकको टोली

दुई महिनाको अवधिमा छन्त्यालको २४ वडा भेडा मरिसकेका छन् । साना पाठापाठीदेखि ठुला भेडाखसी समेत मर्न थालेपछि आफुहरु समस्यामा परेको छन्त्यालले बताउनुभयो । ठाडाखानीमा पूर्णबहादुर छन्त्यालको समेत १७ वटा भेडाहरु मरेका छन् । यहाँका करिब तीन दर्जन बढी घरहरुमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ ।

भेडापालनको पकेट क्षेत्रका रुपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समुहमा आबद्ध भएर भेडापालन गर्दै आएका अधिकाँश कृषकको गोठमा पालेका भेडाहरुमा रोग लागेर विरामी हुने समस्या देखिएको छ । भेडाहरु मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत पशु चिकित्सकहरुको टोली गोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमुना संकलन गरिएको छ ।

कार्यालय प्रमुख जिवन आचार्यका अनुसार, भेडाहरुमा आन्तरिक र बाह्य परजिविको संक्रमणका कारण भेडाहरु मरेको देखिएको र चिसोको कारण डिपिङ मार्फत उपचार सम्भव नभएकाले इन्जेक्सनबाट उपचारका लागि आबश्यक औषधी खरिदका लागी गाउँपालिकालाई आग्रह गरिएको छ । ‘‘खोरपाला भेडापालन भएकाले एउटै ठाउँमा संधै राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुका लगायतको समस्या बढी हुने गर्छ, कृषकहरुलाई खोरको सरसफाई र भेडाहरुको उचित हेरबिचार गर्न समेत सुझाएका छौँ’’–उहाँले भन्नुभयो ।

भेडापालक कृषकहरुको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्यांकी समेत निर्माण गरेको भएपनि समय–समयमा प्रयोग नगरेको कारण भेडाहरुमा रोगको संक्रमण देखिएको र उपचारको लागि पशु चिकित्सकहरुले दिएको रिपोर्ट अनुसार आबश्यक पर्ने भ्याक्सीङ लगायतका औषधी खरिद गर्ने तयारी गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।