निर्वाचनलाई सफल बनाउन मिडियाको भूमिका सम्वन्धी अन्तरक्रिया

  • १८ कार्तिक २०७९, शुक्रबार
  • 331 पटक पढिएको

म्याग्दी, १८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाको भूमिकाबारे अन्तरक्रिया गरिएको छ । शुक्रबार बेनीमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउने सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गराउन मिडियाकर्मीलाई ध्यानाकर्षण गराएको हो ।


जिल्लास्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका मिडियाको रहेको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत नेपालले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयन गरी निर्वाचनलाई सफल बनाउन निर्वाचन सम्वन्धी सकारात्मक सन्देश प्रवाह गर्न गराउन मिडियाकर्मीलाई आग्रह गर्नुभएको थियो । निर्वाचनले राज्य सत्ता संचालनमा सक्षम नेतृत्व निर्वाचित गराउनका लागि आम मतदाताको मत महत्वपूर्ण रहेको जानकारी गराउनुभयो ।


जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले राजनीतिक दल, सार्वजनिक पद धारणा गरेको, मतदाता शिक्षा कार्यक्रमा सहभागि कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय वा सार्वजनिक संस्था, मिडिया लगायतले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा म्याग्दीमा ८६ हजार १२० मतदाता रहेको छन् । ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र रहेका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले निर्वाचमा मिडिया र पत्रकारको भूमिकाबारे जानकारी गराउनुभएको थियो । पत्रकार महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, जिल्ला निर्वाचन अधिकारी घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहायक निर्वाचन अधिकारी तेजनारायण पौडेललको सहभागिता रहेको थियो । जिल्लाका मिडियामा आवद्ध पत्रकार उपस्थित रहेको अन्तरक्रिया कार्यक्रमको संचालन निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले गर्नुभएको थियो ।