घोडेपानीमा घोडादौड प्रतियोगिता

  • १८ कार्तिक २०७९, शुक्रबार
  • 507 पटक पढिएको

 

म्याग्दी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिनुभयो ।

२५ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो हुनुभएको हो । घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बिजयी भएका प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।


“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,” उहाँले भन्नुभयो “सौखिन पर्यटकहरु घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ” प्रतियोगितामा विजयीहरुलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लवका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । घोडेपानी युवा क्लव, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकहरुको पनि उपस्थिति थियो । अन्नपूर्ण गाउँपालिका–५ का पुर्व वडा सदस्य धनबहादुर पाईजाले पाउद्धारमा पनि घोडादौड प्रतियोगिता आयोजना गर्ने तयारी भएको जानकारी गराउनुभयो ।