एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

  • १५ कार्तिक २०७९, मंगलवार
  • 359 पटक पढिएको

म्याग्दी १५ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा मङ्गलवार बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो ।
भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र छेपारेलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदाता भेटघाट गर्नुका साथै घरदैलो गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहितको टोलीले भकिम्लीमा मतदाता भेटघाट गरेको थियो ।
मतदातालाई भेटघाट गर्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले आफू सरकारी जागिरको माया मारेर जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको हुँदा आसन्न निर्वाचनमा भोट दिएर जिताउन आग्रह गर्नुभयो । सोही क्रममा प्रदेश सभा (क)का उम्मेदवार क्षत्रीले यसअघि दुई पटकसम्म जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको वस्तुस्थिति बुझ्नुका साथै विकास निर्माणमा आवश्यक पहल गरेको हुँदा जिल्लाको विकासलाई थप गति दिन आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । यसैगरी प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले लुलाङको खोरियामा घरदैलो गरी मतदातालाई भेटेर भोट मागेको जनाएको छ ।