एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

  • १४ कार्तिक २०७९, सोमबार
  • 389 पटक पढिएको

 

म्याग्दी, १४ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो ।

घरदैलो तथा मतदाता भेटघाटको क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले एमालेको पक्षमा मतदान गरी विजयी बनाउन मतदाताहरुलाई अपिल गर्नुभयो । उहाँले म्याग्दी जिल्लाको विकास र समृद्धिको योजनासहित आफू चुनावमा होमिएको बताउँदै जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, यातायात र कृषिमा आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने एजेण्डा रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद नरदेवी पुनले आर्थिक समृद्धि र विकास निर्माणलाई पूर्णता दिनका लागि एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई अनुरोध गर्नुभयो । एमाले जिल्ला कमिटी सदस्य सिर्जना केसीसहित कार्यक्रममा एमाले मंगला गाउँपालिका कमिटी र वडा कमिटीका पदाधिकारीसहित स्थानीय नेता, कार्यकताहरुको सहभागिता रहेको थियो ।