म्याग्दीको विकासमा हस्तक्षपकारी भूमिका खेल्न मेरो उम्मेदावारी : उम्मेदवार हरि भण्डारी

  • ८ कार्तिक २०७९, मंगलवार
  • 777 पटक पढिएको

म्याग्दी, ८ कात्तिक ।
रघुगंगा गाउँपालिका–२ रुइसेटोल (सिजलगाउँ) का ३७ बर्षिय हरि भण्डारी यतिबेला म्याग्दी जिल्लाबाट प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका माओवादीका युवा नेता भण्डारी यतिबेला जनताको घरदैलोमा भेटघाट, छलफल र मत माग्नुका साथै स्थानीयबासीको समस्या बुझ्ने अभियानमा केन्द्रीत हुनुहुन्छ ।
तत्कालिन भगवती गाविसमा माओवादीको युवा संगठन वाईसियलको अध्यक्षबाट पूर्णकालिन राजनीतिमा होमिनुभएका भण्डारी पार्टीको वडा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै रघुगंगा पालिका कमिटीको अध्यक्ष रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ । बेनीमा व्यवसाय समेत गर्दै आउनुभएका भण्डारी म्याग्दी उद्योग बाणिज्य संघको सदस्य हुनुहुन्छ भने म्याग्दी जेसीज र लायन्स क्लब मार्फत सामाजिक कार्यहरुमा सक्रिय हुनुहुन्छ । भण्डारीले यस अघि जन्मगाउँको न्यु जेनेरेशन युवा क्लबको अध्यक्ष र क्षत्री समाजको तत्कालिन गाविस अध्यक्ष भएर समेत काम गर्नुभएको थियो ।

वैदेशिक रोजगारीको शिलसिलामा २०६१ सालमा कतार पुग्नुभएका भण्डारीले स्वदेशकै माटोमा पसिना बगाउने अठोट लिएर दुई बर्षमै स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्किएपछि सार्वजनिक यातायातको साधन बस र जिप चालकको पेशा अंगाल्नुभएको थियो । ‘‘ अरुको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा मेहनत गर्ने अठोट लिएर स्वदेश फर्किएको थिए, सुरुमा बस र पछि जिप र ट्याक्टर समेत खरिद गरेर यातायात व्यवसायमा लागेँ, म्याग्दी बस तथा जिप सञ्चालक समितिमा पनि आबद्ध भएँ, सुरुमा सहचालक र पछि सात बर्षसम्म आफै चालक भएर गाडी चलाएँ’’–भण्डारी बिगत सम्झन्छन् ।

व्यवसाय, समाजसेवा र राजनीतिलाई संगसंगै अगाडी बढाउनुभएका भण्डारीले अहिले ग्यारेज र अटो पाटर्स व्यवसायबाट २५ जनालाई दैनिक रुपमा रोजगारी समेत दिनुभएको छ । भण्डारीले महिन्द्र, टिभिएस र सुजुकिको आधिकारी सर्भिस सेन्टरको रुपमा बेनीको कालीपुलमा रारा हरि अटो प्रा.लि मार्फत सर्भिस सेन्टर र पर्वत बेनीमा हरि अटो पाटर्स सञ्चालन गर्नुभएको छ ।
‘‘राजनीतिलाई समाजसेवाको रुपमा लिएर समाजको विकास तथा सुधार गर्नु मेरो पहिलो उदेश्य हो, प्रदेश सभामा नीति, नियम र कानुन निर्माणको नियमित कामसंगै हस्तक्षपकारी भूमिका खेलेर जिल्लाको समग्र विकासमा योगदान दिन उम्मेदवार बनेको हुँ’’–भण्डारीले थप्नुभयो । जनताको मन जितेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर पाएमा त्यसलाई म्याग्दीको विकास र समृद्धिमा भरपुर उपयोग गर्ने भण्डारीको योजना छ ।

‘‘आजको आवश्यकता युवा नेतृत्वको हो, युवाको चाहना बमोजिमको जिम्मेवारी बहन गर्न म सक्षम छु, जनताको दुखमा सेवक र सुखमा साथि बन्नेछु, सामाजिक संघ संस्था र पार्टी संगठनको नेतृत्वले मलाई खारिने मौका दिएको छ, अहिले जनताको घरदैलोमा पुग्दा प्राप्त प्रतिकृया र सल्लाह सुझाबले मलाई उत्साहित बनाएको छ, जनताले म प्रति गरेको विश्वासलाई कुनैपनि हालतमा खेर जान नदिने मेरो प्रण छ’’–भण्डारी भन्नुहुन्छ ।

पछिल्लो समय युवा जमातले राजनीतिमा युवाहरुको नेतृत्व खोजिरहेको सन्दर्भमा गठबन्धनबाट प्रदेश सभा सदस्यमा युवा नेतालाई अघि सारेपछि भण्डारी यतिबेला म्याग्दीको राजनीतिक बृत्तमा चर्चाको पात्र बन्नुभएको छ । सामुदायिक बन, युवा क्लब विद्यालय व्यवस्थापन समिति लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक गतिविधिमा संलग्न हुन सुरु गर्नुभएका भण्डारी अहिले युवाहरुको नेतृत्व र क्षमता विकास गर्ने संस्था म्याग्दी जेसीजको बरिष्ठ कार्यकारीणी उपाध्यक्ष हुनुहुन्छ ।

तत्कालिन भगवती गाविस अन्र्तगत सिजलगाउँमा सर्वदलिय संपन्त्रको वडा अध्यक्षमा रहेर समेत गाउँमा विकास निर्माणका कार्यहरुलाई अगाडी बढाउनुका साथै रुइसे क्षेत्रको पर्यटन विकासको अगुवा समेत मानिनुहुन्छ । प्रदेश सभा क्षेत्र (क) बाट भण्डारी संगै प्रतिस्पर्धामा भगवतीकै देवेन्द्रबहादुर कटुवाल चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष समेत रहनुभएका कटुवाल र भण्डारी संगै वडा नम्बर २ भगवतीबाटै राप्रपा नेपालबाट दुध गिरी रघुगंगा–३ कलेजाबाङबाट राप्रपाका प्रवीन शाही र बेनी नगरपालिका–२ बाट मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक पुन प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

पाँच जना चुनाबी मैदानमा रहेपनि युवा नेता भण्डारी र पाका नेता कटुवालबिच नै मुख्य प्रतिस्र्धा हुने देखिएको छ । गत बैशाखामा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा यस प्रदेशसभा अन्तरगत पर्ने बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा एमाले भन्दा गठबन्धनका दलहरु अगाडी देखिएका छन् । यि तिन स्थानीय तहमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले १२९६५ मत प्राप्त गर्दा गठबन्धनमा रहेका नेपाली काँग्रेसका वडा अध्यक्षको उमेद्वारको मत १२,३५९ र माओवादीका वडा अध्यक्षका उमेद्वारको मत ४२९३ रहेको थियो । (उम्मेदवार भण्डारीसंगको कुराकानीमा तयार पारिएको सामाग्री)