धौलागिरि आधार शिविरमा मोना हङकङको प्रतिनिधिमुलक टोली (तस्बिर सहित)

  • ७ कार्तिक २०७९, सोमबार
  • 687 पटक पढिएको

म्याग्दी , ७ कात्तिक । हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेका हुन् ।


बेनीदेखि एक साताको पदयात्रामा आधार शिविर पुगेको टोलीले यस क्षेत्रको पर्यटन सम्भावनाको स्थलगत अवलोकन तथा भ्रमण गरेर फर्किएका छन् । धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने लक्ष्य रहेपनि प्रतिकुल मौसमका कारण यात्रालाई आधार शिविर सम्म पुगेर फर्किएको मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले जानकारी दिनुभयो ।


बेनीदेखि मोना हङकङमा आबद्ध १० जना सहित सञ्चारकर्मी, पथप्रर्दशक र सहयोगी समेत गरि ३२ जनाको टोलीले धौलागिरि आधार शिविरतर्फ प्रस्थान गरेका मध्ये केहि इटाली आधार शिविरबाट फर्किएका थिए । आधार शिविरसम्म अध्यक्ष पुन र उहाँकी पत्नी मनु पुन तथा पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर र उहाँकी पत्नी लक्ष्मी एलजी थापा मगर सहित पत्रकार अमृत भादगाउँलेको साथमा पदप्रदर्शक र भरिया समेत गरि २३ जना पुगेका थिए ।


टोलीले प्राकृतिक रुपमा मनोरम धौलागिरि पदमार्ग सम्भावनाको हिसाबले उत्कृष्ट गन्तव्य बन्न सक्ने निष्कर्ष निकाल्दै इटाली आधार शिविर क्षेत्रसम्म आन्तरिक पर्यटकहरुको आगमन बढाउन मोना भ्यू पोइन्ट स्थापना गर्ने निचोड समेत निकालेको अध्यक्ष पुनले बताउनुभयो । ‘‘ झरना, हिमाल, वनजंगलको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा निकै आनन्ददायि भयो, तर स्थानीयबासीमा पर्यटन संस्कार र शिक्षाको अभाब देखियो भने पदमार्ग र पर्यटकहरुको आवास सुविधालाई स्तरीकरण गर्नुपर्ने देखिएको छ’’–अध्यक्ष पुनले भन्नुभयो ।

त्यसैगरि आधार शिविर पुग्नुभएका इन्द्र एलजी थापा मगरले सञ्चारको पहुँच बढाउँदै कम्तीमा इटाली आधार शिविरसम्म आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने योजना सहित पूर्वाधार निर्माणमा जुट्नुपर्ने आबश्यकता देखिएको बताउनुभयो । हिमाल आरोहण , आधार शिविर क्षेत्रको भ्रमणसंगै सिंगो धौलागिरि हिमाललाई फन्को मार्न सकिने भएकाले धौलागिरि हिमाल विदेशी पर्यटकहरुको रोजाइमा पर्ने गरेको भएपनि पदमार्ग, खानेपानी, होटल, सञ्चार लगायतको अभाबमा यो क्षेत्रमा ओझेलमा परेको छ ।