कुकुरको भूमिकाः ‘सहरका रहर, गोठालाका भर’ (तस्बिर/भिडियो

  • ७ कार्तिक २०७९, सोमबार
  • 581 पटक पढिएको

कमल खत्री
बेनी, ७ कात्तिक । सहरका ठूला घरहरुमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभएपनि ग्रामिण भेगका गोठहरुमा पाल्ने कुकुरहरु भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् ।

अनकन्टार जंगल, पहाड र हिमालका बुकीसम्म नै घुम्ती रुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका– ५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाहरुको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताउनुभयो । ‘‘ हामीपनि गोठमा हुन्छौँ, तर कहिलेकाँही जंगली जनावरहरुले गोठमा रहेका भेडाहरुमाथि आक्रमण गर्न सक्ने जोखिम रहन्छ, जंगली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ’’–उहाँले भन्नुभयो ।

खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुरहरु रहेका छन् । अधिकाँश समय जंगलमै विताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्धारपालकको रुपमा लिने गरिन्छ ।

 

खासगरि पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरि राखिने गोठका गाई भैँसी पालन र भेडाबाख्रा संगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथि र साथि कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठहरुको दुरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताउनुभयो । जंगलका बाघ, चितुवा, भालु लगायतका हिंसक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनिकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उहाँले बताउनुभयो ।
‘‘गोठदेखि जंगलमा चरनक्षेत्रसम्म नै कुकुरहरुले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन, जंगली जनावरहरुको आवाज र संकेत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन, हामी गोठमा कुकुरकै भरमा हुन्छौँ’’–उहाँले अनुभूति सुनाउनुभयो । करिब ६ सय बढी भेडा पालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र ४ वटा कुकुरले भेडिगोठ धानेका छन् ।

चरन क्षेत्रमा समेत कुकुरहरुले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० बर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ बर्षिय लालविर तिलिजा बताउनुहुन्छ ।

गोठका सारथि बनेका कुकुरहरुलाई जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाईदिने गरिन्छ । म्याग्दीको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पुजाआराधानाले थप बढाउने गरेको छ । यमपञ्चक अर्थात् दीपावली पर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।