राष्ट्रिय प्रतियोगिता ‘खेल शिक्षा र पूर्वाधार विकास’को आधार बन्यो

  • ४ कार्तिक २०७९, शुक्रबार
  • 517 पटक पढिएको

कमल खत्री
बेनी, ४ कात्तिक । म्याग्दीमा पहिलो पटक दुई खेलकुद प्रतियोगिता आयोजना भए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बेनीमा आयोजना गरियो । नवौँ राष्ट्रिय खेलकुदका मुख्य खेलहरु गण्डकी प्रदेशको राजधानी पोखरामा र अन्य केहि जिल्लाहरुमा भैरहँदा म्याग्दीमा आयोजना भएको महिला भलिबल र तेक्वान्दो प्रतियोगिताले म्याग्दीलाई ‘खेल उत्सवमय’बनायो ।


बिजया दशमी र तिहारको बिचमा आयोजना भएको यस प्रतियोगितालाई स्थानीय आयोजकले गरेको व्यवस्थापनले शान्त र मर्यादित संगै उत्सवपूर्ण तवरले सम्पन्न गर्न सम्भव भएको छ । खासगरि यो प्रतियोगिताले म्याग्दीमा खेल पर्यटनको विकाससंगै युवाहरुमा खेल शिक्षा र आम रुपमा खेल पूर्वाधारको विकासको लागि प्रोत्साहन गर्दै सम्पन्न भएको यहाँको सरोकारवाला बताउँछन् । महिला राष्ट्रिय भलिबलको अवलोकनमा दिनहुँ रुपमा हजारौँको संख्यामा दर्शकहरुको आगमनले राष्ट्रिय प्रतियोगिताले म्याग्दीबाट नया सन्देश दिएको छ । महिला भलिबल प्रतियोगिताको फाइनलमा १० हजारको सख्ंयामा दर्शकले प्रत्येक्ष अवलोकन गरेको आयोजकको भनाई छ ।

प्रतियोगिताको अवलोकनका लागि आउने पाहुना र अतिथिहरुले गरेको प्रसंसाले समेत म्याग्दीमा आयोजना भएका प्रतियोगिता सञ्चालनमा भएका उत्कृष्ट पक्षको उजागर भएको छ । उद्घाटनका देखिएको सामुहिक एकता र खेल अवधिमा देखिएको सक्रियताले राष्ट्रिय रुपमा म्याग्दीको सकरात्मक सन्देश प्रवाह भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी बताउनुहुन्छ । ‘‘ न राखेपबाट पैसा आयो, आश्वासनको भरमा स्थानीय सरकारहरुको ढाडसमा काम ग¥यौ, लाखौँको खर्च भएको प्रतियोगितामा हामीले जिल्लाको स्रोत र साधनले सक्ने सम्मको व्यवस्थापन गरेर प्रतियोगिताहरु सम्पन्न ग¥यौ’’–उहाँले भन्नुभयो ।


प्रतियोगिता सञ्चालनको लागि तत्काल कुनै बजेट नआएपनि आश्वासन आएको र स्थानीय सरकारहरुले सहकार्यका लागि प्रतिबद्धता जनाएपछि जिल्ला स्थित सरोकारवालाहरुसंगको सहकार्यमा प्रतियोगितालाई सफल बनाइएको केसीको भनाई छ । राखेपले तत्कालका लागि लाखौँको खेलकुद सामाग्री उपलब्ध गराएको छ । तेक्वान्दो लगायतका खेलकुदका लागि म्याट, स्कृन,वेट मेसिन, भलिबल खेलका लागी भलिबल, पोल, जाली लगायतका खेलकुद सामाग्री उपलब्ध गराएको खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको हरेक दिन करिब ५ हजारको हाराहारीमा अवलोकन भएको महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा झण्डै १० हजार बढी दर्शकले खेलमैदानमा उपस्थित भएर अवलोकन गरेका थिए । मिनि रंगशाला बनाउने उदेश्य सहित निर्माणधिन अवस्थामा रहेको खुला मञ्चमा सञ्चालन गरिएको प्रतियोगितामा प्याराफिटको क्षमता भन्दा धेरै दर्शकहरु आएपछि भुइँमै बसेर खेल अवलोकन गरेका थिए । प्रतियोगिताको अवलोकनका लागि आउनुभएका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब टंकलाल घिसिङले भुइँमा बसेर खेल अवलोकन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न थप पूर्वाधार निर्माणमा प्रतिबद्धता जनाउनुभयो ।

‘‘उद्घाटनमा यहाँको तस्बिर हेरेको थिए, यहाँका संघ संस्था, जातजाति , समुदाय सबैले अपनत्व लिएको महसुस गरेको थिए, म्याग्दीमा खेलप्रेमिहरुको लोभलाग्नो उत्साहले प्रभावित थिए, आज यहाँ आएर खेल अवलोकन गर्ने अवसर मिल्यो, दर्शकहरु उभिएर, भुइँमा बसेरै घण्टौँ सम्म खेलक अवलोकन गरिरहनुभएको छ, यस खेल मैदान व्यवस्थित गर्दै थप प्याराफिट लगायतका पूर्वाधार बनाउन बेनी नगरपालिकासंग सहकार्य र समन्वय गर्छौँ’’–सदस्य सचिब घिसिङले खेल अवलोकन गर्दै प्रतिबद्धता जनाउनुभएको थियो ।
खेल अवधिमा म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको थियो ।

भलिबल र तेक्वान्दो प्रतियोगिताको खेलहरुसंगै म्याग्दीको संस्कृति झल्कने साँस्कृतिक र साँगेतिक प्रस्तुती राख्ने प्रवन्ध मिलाइएको थियो । प्रतियोगितामा सहभागीता जनाउन आएका खेलाडी, अफिसियल, व्यवस्थापक र खेलप्रेमि दर्शकहरुलाई मनोरञ्जनका लागि नृत्य, र साँगेतिक प्रस्तुती राख्दा प्रतियोगिता खेल उत्सव बनेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

‘‘यो प्रतियोगितालाई हामीले खेल उत्सवकै रुपमा सम्पन्न गर्ने प्रयत्न ग¥यौ, पहिलो दिनको झाँकी सहितको साँस्कृतिक प्रस्तुतीले खेलाडी र खेल अवलोकन गर्न आएका दर्शकहरु हर्षित भएको पाएपछि, विभिन्न प्रतियोगिताहरुको अघिपछि पनि यहाँका कलाकारहरुको नृत्य प्रस्तुतीलाई जोडेका हौँ’’–उहाँले भन्नुभयो । खेल अवधिमा म्याग्दीको थाली नाच, जातजातिको मौलिक कला संस्कृति झल्कने नृत्य संगै विभिन्न सामुहिक नृत्यहरुलाई समावेश गरिएको थियो ।

म्याग्दीले प्रतियोगिता सम्पन्न गरेर जुनुसकै प्रतियोगितालाई पनि म्याग्दीले उत्कृष्ट साथ सम्पन्न गर्न सक्षम रहेको सन्देश दिएको छ । अर्कोतर्फ यो प्रतियोगिता राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको खेल कौसलको अवलोकन गर्ने र खेलकुदतर्फ अघि बढेकाहरुलाई हौँसला बढाउने माध्ययम समेत बनेको भलिबल संघका अध्यक्ष बानियाँ बताउनुहुन्छ । यो प्रतियोगिता समग्रमा खेल शिक्षाको एक महत्वपूर्ण पाटो बनेको जिल्लाका खेलकुद क्षेत्रका जानकारहरु बताउँछन् । प्रतियोगिता अवधिमा खेलाडीहरुलाई बेनी नजीकका पर्यटकीय गन्तव्यहरुमा भ्रमणको समेत बन्दोबस्त मिलाइएको कारण यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।