गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा

  • ३ कार्तिक २०७९, बिहीबार
  • 463 पटक पढिएको

 

म्याग्दी ३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसिभा तथा प्रदेशसभा निर्वाचनका सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् ।

गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा (खम्बिर) प्रदेशसभा क्षेत्र नं. (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी सहितको टोली उत्तरी म्याग्दीको वडास्तरीय भेला, घरदैलो र भेटघाटमा छन् भने प्रदेशसभा क्षेत्र नं (ख)का उम्मेदवार सुविन जुग्जाली सहित नेपाली कांग्रेस र माओवादीका नेताहरू जिल्लाको अति विकट गूर्जामा चुनावी अभियानमा छन् ।

सभासम्मेलन, लगायतका प्रचारप्रसारलाई निर्वाचन आयोगले १७ दिन भन्दा बढी समय गर्न नपाइने नियम बनाएपछि गठबन्धनका उम्मेदवाररु समृद्ध म्याग्दी बनाउने ५ बर्षे प्रतिबद्धता सहित वडास्तरको रणनीति बनाउने, मतदातालाई भेट्ने र मतदाताको घर–घरदैलोमा जाने कार्यक्रम सुरु गरेको गठबन्धनको संयुक्त चुनावी प्रचारप्रसार समितिका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति केबी भण्डारीले बताउनुभयो ।

‘मतदातालाई अवको पाँचबर्षमा गर्ने काम सहित उम्मेदवार घरदैलोमा पुग्नुहुने छ,‘मतदाताबाट सुझाव लिएर फर्किनुहुन्छ, त्यहीलाई हामीले ५ बर्षे प्रतिबद्धतापत्र बनाएर कार्यान्वयन गर्नेछौ’ संयोजक भण्डारीले भन्नुभयो । उहाँले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाहरू नेता तथा कार्यकर्तासँगै घरदैलोमा पुग्ने कार्यक्रमपछि आमसभा सहितका अन्य कार्यक्रमहरु निर्वाचन आयोगले दिएको समयभित्र गर्ने बताउनुभयो । उम्मेदवार सहितको टोली घरदैलोमा पुग्न थालेपछि चुनावी रौनकता सुरू भएको छ ।

गठबन्धनका दलहरुले वडा, बस्तीसम्मको कार्यविभाजन गरी चुनावी गतिविधिलाई तिब्रता दिएको बताइएको छ । घरदैलो अभियानमा ब्यस्त गठबन्धनका साझा उम्मेदवार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जनताका निकै उत्साह देखेको बताउनुभयो । उहाँले निर्वाचनको समय कम रहेकाले घरदैलो अभियानलाई तीव्रता दिएको र विभिन्न चरणमा जनताको माझमा पुग्ने बताए । यसपटक गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिबद्धता र गठबन्धन गर्नुको प्रमुख कारणका बारेमा मतदातालाई भेटेर नै प्रष्ट पार्ने गरी घरदैलोमा पुगेको प्रदेशसभा क्षेत्र नं क का उम्मेदवार हरि भण्डारीले बताउनुभयो ।