एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

  • ३ कार्तिक २०७९, बिहीबार
  • 513 पटक पढिएको

म्याग्दी ३ कात्तिक । आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो ।


आज (बिहीबार) एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेता हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार पार्टी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीको एक टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भोट मागेको एमाले म्याग्दीले जनाएको छ । एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । मतदाता भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा एमाले रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक बिखर्ची, सचिव झलक शर्मा, एमाले जिल्ला सदस्य चन्द्रमान छन्त्याल, युवा संघका जिल्ला संयोजक शिशिर शाही, एमाले रघुगंगा–८, का वडा कमिटी अध्यक्ष तेजिन फगामी र राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला महासचिव राजकुमार परियारसहितको टोली परिचालन भएको छ ।
यसैगरी म्याग्दी जिल्लाको प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम गरी भोट मागेको जनाएको छ । उक्त टोलीले मालिका गाउँपालिका–६, दरबाङको दुखु, ७ नम्बर वडा विमको धुनट र डाँडागाउँमा पुगेर मतदाता भेटघाटसँगै एमाले उम्मेदवार तथा पार्टीको पक्षमा भोट मागिएको एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेशसभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी संयोजक खरमाया बिटालुले बताउनुभयो । उहाँले घरदैलो अभियानमा उम्मेदवारसहित एमाले मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजा, सचिव सन्तोष सुवेदी, जिल्ला कमिटी सदस्य गौमती चपाई र दरबाङका वडाध्यक्ष पथबहादुर रोका रहेको जानकारी दिनुभयो ।