नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय

  • ३ कार्तिक २०७९, बिहीबार
  • 661 पटक पढिएको

–विक्रम गिरी

बेनी (म्याग्दी), ३ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले जीवनमा थापाले भलिबल खेले पनि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भने कहिल्यै सहभागी नभएकी उनमा भलिबलप्रतिको रुची भने अहिले पनि उत्तिक्कै छ । ‘‘उमेरले हेर्ने रहर छेक्दो रहेनछ’’, बेनीमा महिला भलिबल खेल हेर्दै गरेकी थापाले भनिन्, ‘‘मलाई भलिबल औधी मन पर्छ, यसपाली खेल हेर्दा सारै मजा आयो ।’’ उनी छोरीलाई साथमा लिएर भलिबल हेर्न आएकी थिइन् ।

पर्वतको कुश्माका हरेराम रसाइली पनि भलिबल मैदानमै भेटिए । वैदिशक रोजगारमा मलेसियामा रहेका उनी हालै घर फर्किएका हुन् । भलिबल रसाइलीका लागि सबैभन्दा मन पर्ने खेल हो । दश कक्षा मात्र पढेका उनी विद्यालय र गाउँघरमा प्राय सधैँजसो भलिबल खेल्थे । महिला भलिबल हेर्न रसाइली दिनहुँ बस चढेर बेनी आएका थिए । साँझ बस चढेरै घर फर्किने गरेको उनले सुनाए । ‘‘सकभर आफ्नो ठाउँमा सञ्चालन हुने भलिबल प्रतियोगिता हेर्न छुटाउँदिन् ।’’ रसाइली मिलेसम्म अहिले पनि भलिबल खेल्न छाड्दैनन् ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल बेनीमा राखिएको थियो । बेनीमा महिला भलिबलसँगै तेक्वान्दो पनि खेलाइएको थियो । दुवै खेल बुधबार सम्पन्न भएका छन् । तेक्वान्दोभन्दा महिला भलिबल हेर्नेको सङ्ख्या अत्यधिक थियो । भलिबल हेर्न म्याग्दीका गाउँगाउँबाट दर्शक बेनी झरेका थिए । छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत दर्शक आएका थिए । ‘‘प्रतियोगितामा सबैभन्दा धेरै दर्शक महिला भलिबलमै थिए’’, चार वर्षदेखि महिला भलिबलको राष्ट्रिय टोलीका प्रशिक्षक रहेका जगदिशप्रसाद भट्टले भने, ‘‘पुरुष भलिबलभन्दा तेब्बर बढी दर्शक महिला भलिबलमा थिए ।’’

महिला भलिबलको स्वर्ण सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । बेनीको खुल्ला मञ्चमा बुधबार भएको अन्तिम चरणको खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो । एपिएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो । पुलिसले तेस्रो सेटमा एपिएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो । चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो । एपिएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको कप्तानी कमला पुनले गरेकी थिइन् ।

गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो । बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले हरायो । गत असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।

पुलिस टोलीकी कप्तान कमला पुन म्याग्दीकै बासिन्दा हुन् । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही पनि म्याग्दीकै हुन् । पुरुषतर्फ राजु थकाली र राजु मल्ल पनि म्याग्दीकै हुन् । दुवै जनाले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । हाल उनीहरू विदेशमा छन् । महिला र पुरुष टोलीमा यस्ता धेरै प्रतिभा आउने क्रम जारी छ । म्याग्दी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीका अनुसार जिल्लामा भलिबल सबैभन्दा लोकप्रिय छ । ‘‘महिला र पुरुष भलिबल यहाँ असाध्यै लोकप्रिय छ, गाउँ गाउँमा वर्षभरी विभन्न प्रतियोगिता भइरहन्छन्’’, उनले भने । प्रतियोगिता आयोजना गर्न स्थानीयवासीका साथै विदेशमा रहेका जिल्लावासीले सक्दो आर्थिक सहयोग गरेको केसीले बताए ।

भलिबलप्रतिको मोहकै कारण म्याग्दीमा भलिबल प्रतियोगिता राख्न राष्ट्रिय खेलकुद परिषद्सित अनुरोध गरिएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए । ‘‘म्याग्दीबाट बढी माग भलिबलकै थियो, उनीहरूले प्रतियोगिता भव्य बनाउँछौँ भनेका थिए, आयोजनाबाट सबै सन्तुष्ट छन्’’, अध्यक्ष चन्दले भने । राष्ट्रिय खेल भलिबलमा खेलाडीको कमी नभएको उनको भनाइ थियो । कमी छ त केवल लगानीको । गाउँ गाउँमा भलिबलका प्रतिभा रहेको उल्लेख गर्दै उनले राज्यले लगानी गरे नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नतिजा ल्याउन सक्ने बताए ।

पुरुषभन्दा महिला भलिबलमा नेपालमा उलेख्य प्रगति भएकोे छ । सन् २०१९ मा बङ्गलादेशको ढाकामा सम्पन्न पहिलो एशियन सेन्टरल जोन महिला भलिबल च्यालेन्ज कप तथा ढाकामै गत वर्ष सम्पन्न दोस्रो एशियन सेन्टरल जोन महिला भलिबल च्यालेन्ज कपमा नेपालले स्वर्ण पदक जितेको थियो । त्यसअघि सन् २०१५ मा मालदिभ्सको मालेमा भएको एभिसी सेन्टरल सब जोनल बीचभलिबलमा महिला टोली पहिलो भएको थियो । सन् २०१२ मा सम्पन्न दक्षिण एशियाली बीचमहिला भलिबल च्याम्पियनसिपमा समेत महिला टोली पहिलो भएको थियो । नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । भारतसित अन्तिम सेटमा नेपाली टोली पराजित भएको थियो । रासस