३ राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवीलाइ भारोत्तोलनमा स्वर्ण

  • १ कार्तिक २०७९, मंगलवार
  • 662 पटक पढिएको

म्याग्दी १ कात्तिक । तीन राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक हात पार्नुभएको छ। पोखरामा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरी किर्तिमान राख्नुभएको छ । यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उहाँले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।

तीन वटा कीर्तिमान बनाएकी तारदेदी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी बन्नुभएको छ। उहाँले २०५५ मा मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जित्नुभएको थियो।

नेपाल पुलिसमा अनुबन्ध भएयता भारोत्तोलन खेल्न सुरु गर्नुभएकी उहाँले पाँचौदेखि नवौं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जित्नुभएको हो । १०० किलो भन्दा बढी भार वहन गर्ने उहाँ एकमात्र नेपाली महिला खेलाडी बन्नुभएको छ। महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत हात पार्नुभएको छ । सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य हात पार्न स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गर्नुभएको थियो ।