महिला भलिवलमा विभागीय टिम एपिएफ र पुलिस क्लब फाइनलमा प्रवेश

  • १ कार्तिक २०७९, मंगलवार
  • 465 पटक पढिएको

कमल खत्री । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा पराजीत गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता जनाएको प्रतियोगीताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विभागीय टिमले स्थान सुरक्षित गरेका छन् ।
मंगलवार खुलामञ्चमा भएको सेमिफाइनमा नेपाल पुलिस क्लबले सोझो तीन सेटमा गण्डकीलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थियो । त्यसैगरि एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो,तेस्रो र चौथो सेटको खेलमा समालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपीएफले बागमति माथि २५–२३, २५–२२, २५–१६ जित निकाल्दै फाइनल यात्रा तय गरेको छ । सेमिफाइनलको प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना र पुलिसकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित भएका छन् । बुधवार प्रतियोगिताको फाइनल प्रतिस्पर्धासंगै तेस्रो स्थानका लागि सेमिफाइनलसम्म पुगेका गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।