महिला भलिवलमा एपीएफ, पुलिस, बागमति र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश

  • ३१ आश्विन २०७९, सोमबार
  • धिरन खत्री
  • 535 पटक पढिएको

 

म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा क्वाटरफाइनलका खेल सकिएका छन् । सोमबार भएका क्वाटरफाइनल खेलहरुबाट दुई विभागीय र दुई प्रदेशका टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला भलिबलमा एपीएफ क्लब, पुलिस क्लब, बागमति प्रदेश र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

क्वाटरफाइनलमा एपीएफले लुम्वीनी प्रदेशलाई, बागमतिले सुदुरपश्चिम प्रदेशलाई, पुलिसले आर्मीलाई र गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० अंकमा लुम्वीनी प्रदेश माथि सोझो सेटको जित निकालेको थियो ।

त्यसैगरि बागमतीले सुदुरपश्चिम माथि २५–१२, २५–१५ र २५–२३ को सहज जित निकाल्दै सेमिफाइनल तय गरेको थियो । तेस्रो क्वाटरफाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लबविचको खेल निकै रोचक प्रतिस्पर्धा भएको थियो । नेपाल पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो । सुरुका दुई सेटमा २५–१३, र २५–२० को जित निकालेको पुलिसलाई तेस्रो र चौथो सेटमा आर्मीले २५–२३ र २५–१३ को जित निकाल्दै दबाबमा राखेको थियो । दुबै टिमको २÷२ सेटको नजितापछि निर्णायक पाँचौ सेटमा पुलिसले १५–१३ अंकका साथ जीत हाँसिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

त्यस्तै गण्डकी प्रदेशले प्रदेश १ माथि २५–१०, २५–१० र २५–१७ को सहज जित निकालेको थियो । क्वाटरफाइनल चरणका खेलमा एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लवकी टिम क्याप्टेन कमला पुन, बागमती प्रदेशकी प्रगतीनाथ र प्रदेश नम्बर १ की पुर्णीमा राई उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मंगलबार दुई सेमिफाइनल खेलमा विभागीय टिम एपीएफ र बागमती प्रदेश तथा अर्को विभागीय टिम नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l