‘निःशूल्क आँखा शिविर’बाट करिब पाँच सय जना लाभाविन्त

  • ३० आश्विन २०७९, आईतवार
  • 373 पटक पढिएको

बेनी, ३१ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित दुई दिने निःशूल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जना लाभाविन्त बनेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले नेत्रज्योति संघ म्याग्दी र मोना अन्तराष्ट्रियको समेत सहकार्यमा आयोजना गरेको उक्त शिविरबाट चार सय ८४ जनाले सेवा लिएका छन् ।
शनिवार र आइतवार गरि दुई दिन सञ्चालन भएको शिविरमा ३०७ जना महिला र १७७ जना पुरुषले आँखा परिक्षण गराएकोमध्ये १० जनामा मोतियाविन्दुको समस्या पहिचान भएको शिविरका संयोजक गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, एक जनामा मोतियाविन्दुका साथै उच्च रक्तचापको समेत समस्या रहेको पहिचान भएको छ ।
शिविरमा आँखा परिक्षण गराएकामध्ये मोतियाविन्दुको समस्या पहिचान भएकाहरुको मोनाकै आर्थिक व्यवस्थापनमा निःशूल्क सल्यक्रिया सहितको थप उपचार सेवा समेत प्रदान गरिने संयोजक भण्डारीले बताउनुभयो ।
शिविरमा नेत्र ज्योतिसंघद्धारा बेनीमा सञ्चालित आँखा उपचार केन्द्रका दिनेश बानियाँ, विकास पुर्जा सहित पिप्ले र भगवती स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण र चेकजाँच गर्नुभएको थियो ।

शिविर सञ्चालन गर्न रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल अष्ट्रेलियामा रहनुभएका मोना अष्ट्रेलियका अध्यक्ष समेत रहनुभएका इन्द्र थापा मगरले आर्थिक सहयोग गर्नुभएको आयोजकले जनाएको छ । उक्त शिविर असोज ३१ गते अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा समेत सञ्चालन गरिने भएको छ । ग्रामीण भेगमा उपचारको पर्खाइमा रहेका आँखाका विरामीहरुको लागि शिविर फलदायि बनेको मोना अन्तराष्ट्रियका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार, भगवतीमा असोज ३० गतेमात्रै शिविरको आयोजना गरिएको भएपनि सेवा लिन आउनेको भीड लागेपछि शिविरलाई दुई दिनसम्म सञ्चालन गरि आँखा परिक्षण र उपचार सेवा दिईएको हो । शिविरमा आबश्यकता अनुसार चश्मा र औषधी समेत निःशूल्क रुपमा उपलब्ध गराईएको छ ।
कमल खत्री – – –