बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता उत्सवमय बन्दै (तस्बिर/भिडियाे)

  • २८ आश्विन २०७९, शुक्रबार
  • कमल खत्री
  • 1193 पटक पढिएको

बेनी, २८ असोज : म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रुपमा सञ्चालन गरेका छन् ।

प्रतियोगिताको हरेक खेल लगत्तै म्याग्दीको संस्कृति झल्कने साँस्कृतिक र साँगेतिक प्रस्तुती राख्ने गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदले तय गरेको कार्यतालिकालाई असर नपर्ने गरि प्रतियोगितामा सहभागीता जनाउन आएका खेलाडी, अफिसियल, व्यवस्थापक र खेलप्रेमि दर्शकहरुलाई मनोरञ्जनका लागि नृत्य, र साँगेतिक प्रस्तुती राख्ने व्यवस्था मिलाइएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।


‘‘यो प्रतियोगितालाई हामीले खेल उत्सवकै रुपमा सम्पन्न गर्ने प्रयत्न गरेका छौँ, हरेक खेलको बिच र अन्त्यमा खेलाडीहरुलाई म्याग्दीको संस्कृति झल्कने साँस्कृतिक प्रस्तुती राख्ने हाम्रो जमर्को छ, पहिलो दिनको झाँकी सहितको साँस्कृतिक प्रस्तुतीले खेलाडी र खेल अवलोकन गर्न आएका दर्शकहरु हर्षित भएको पाएका छौँ’’–उहाँले भन्नुभयो । खेल अवधिमा म्याग्दीको थाली नाच, जातजातिको मौलिक कला संस्कृति झल्कने नृत्य संगै विभिन्न सामुहिक नृत्यहरुलाई समावेश गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निदेश केसीले बताउनुभयो ।

जिल्लामा रहेका जातजाति र संघ संस्थाको पहिचान, कला र संस्कृति झल्कने झाँकी प्रर्दशन सहित खेलाडीहरुलाई स्वागत गरेको म्याग्दीले राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई महोत्सवका रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । विहिवार उद्घाटनका अवसरमा ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरि स्वागत गरिएको कार्यक्रममा नौमती बाजा, नेवार समुदायको नागा नागिनी नाच, मगर समुदायको पुख्र्यौली नाच संगै युवा–युवतिहरुले लोकदोहोरी भाकाका गीतहरुमा आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीलाई तुल, व्यानर र तोरनले सिंगारिएको छ । प्रतियोगिता अवधिमा खेलाडीहरुलाई बेनी नजीकका पर्यटकीय गन्तव्यहरुमा भ्रमणको समेत बन्दोबस्त मिलाईएको छ । आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागिय टिम सहभागी छन् । प्रतियोगिताको आज दोस्रो दिन पहिलो चरणको तीन वटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् ।  

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l