म्याग्दीमा पर्यटकको चहलपहल

  • २७ आश्विन २०७९, बिहीबार
  • 573 पटक पढिएको

म्याग्दी २७ असाेज । मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ । दसँैं तिहार बिदाको समयमा आन्तरिक पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउन म्याग्दीका पर्यटकीयस्थलमा आउन थालेका हुन् । यसैगरी बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएपछि म्याग्दी हँुदै मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटक पनि बढेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक एक सयको हाराहारीमा विदेशी र त्यतिकै सङ्ख्यामा स्वदेशी पर्यटक घोडेपानी पुनहिल भ्रमणमा आउन थालेका छन् । हिमशृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न वसन्त र शरद ऋतुमा समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटक आउने गर्छन् । पोखरादेखि नजिक भएको हुनाले यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसम सुधार भएसँगै घुमघाममा निस्किन थालेका हुन् ।

दसँैपछि पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । निरन्तरको भारी वर्षाका कारण यसपालि दसँैं बिदामा निस्केका पर्यटक प्रभावित भए पनि दुई दिनयता मौसममा हलुका सुधार आएसँगै पर्यटकको आगमन बढ्न थालेको उहाँले बताउनुभयो ।

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने २० भन्दा बढी हिमचुचुरालाई नजिकैबाट नियाल्न सकिन्छ ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको घुइँचो लाग्न थालेको छ । मुस्ताङ जाने र फर्कने पर्यटकले भुरुङ तातोपानीमा स्नान गर्दछन् । बेनीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु हुन लागेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण बेनीमा चहलपहल बढेको र होटल भरिभराउ भएका होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । बेनी नजिकैको लम्भिहिल, गलेश्वर, मल्लाज र सिंगा तातोपानी कुण्डको पर्यटन प्रवद्र्धनमा नवौँ राष्ट्रिय खेलकुदले सहयोग गर्ने अध्यक्ष आचार्यको भनाइ छ ।