आजदेखि बेनीमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै

  • २७ आश्विन २०७९, बिहीबार
  • 635 पटक पढिएको

बेनी, २७ असोज : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । कार्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि बेनीको खुल्लामञ्चमा खेल सामाग्रीको बन्दोबस्त, खेलमैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ ।
खेलाडीको आवास र अभ्यास स्थल लगायतको ब्यवस्थापकीय काम सकिएको र भव्य समारोहका बिच उद्घाटन गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघको नेतृत्व र पालिकाको सहयोगमा प्रतियोगिता संचालनका लागि पुर्वाधार तयारी भएको छ।

“राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा सहभागिता जनाएका खेलाडीको उपस्थित हुने खेलकुद प्रतियोगिताले म्याग्दीमा खेलकुद क्षेत्रको विकासमा थप टेवा पु¥याउने देखिन्छ, राष्ट्रिय स्तरको प्रतियोगिता म्याग्दीमा आयोजना हुनु सम्पूर्ण म्याग्देली खेलप्रेमिहरुको लागि गौरवको कुरा, हामी प्रतियोगितालाई सफल बनाउन जुटेका छौँ’’– अध्यक्ष केसीले भन्नुभयो ।

महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी संघको समन्वयमा आवासको प्रवन्ध मिलाईएको छ । आज बेनीमा झाँकी सहितको ¥याली माफर्त खेलाडीहरुलाई स्वागत गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनको अवसरमा म्याग्दीका मौलिक कला संस्कृति, भेषभुषा र बाजागाजाको समेत प्रदर्शन गरिने भएको छ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा बेनीबजार र खेल सञ्चालन हुने खुलामञ्च परिसर सरसफाई गरि तुल, व्यानर र तोरन टाँगेर सिगारिएको छ । गण्डकी प्रदेशमा ३९ बर्षपछि भएको नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगत म्याग्दीमा महिला भलिबल संगै तेक्वान्दो प्रतियोगिता समेत सञ्चालन हुँदै छ । कालिपुल स्थित कवर्ड हलमा हुने तेक्वान्डो प्रतियोगिताको लागि समेत खेलमेदानको व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएको छ । महिला भलिबलको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशबिच हुने जनाइएको छ ।