म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेरकाे बास्तविकता !

  • २६ आश्विन २०७९, बुधबार
  • 597 पटक पढिएको


‘म्याग्दीमा प्रतिगमनकारीहरुको अहंकारवाद अन्त्यका निम्ति गठबन्धनले जित्नुपर्छ’ : पाैडेल
पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेललाई प्रतिनिधिसभा सदस्यको उमेद्वारीका लागि टिकट समेत दिइसकेको थियो । सार्वजनिक नभएपनि काँग्रेसले पनि प्रदेशसभाका दुई सिटमा उमेद्वारका लागि टिकट पठाएको थियो । मनोनयन दर्ताका गर्ने दिन असोज २३ गते भने काँग्रेसले प्रतिनिधीसभा र माओवादीले प्रदेशका दुई वटै सिटमा मनोनयन दर्ता गर्ने सहमती गरे र त्यही अनुसार उमेद्वार बनाए । माओवादी र काँग्रेसले देशका अन्य केही जिल्लामा पनि सिट साटफेर गरेका छन् । म्याग्दीमा कसरी सिट साटफेर भयो भन्ने आम चासोको विषयमा माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेलसँग गरिएको कुराकानीमा उहाँले व्यक्त गरेका भनाई यहाँ प्रस्तुत गरिएको छ ?

 

 

‘पार्टी, गठबन्धन र म्याग्दीको हितका लागि वैज्ञानिक निर्णय’
यो मान्छेलाई सुन्दा आश्चार्य लाग्ने विषयबस्तु हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई प्रतिनिधीसभा र प्रदेशसभाको दुवै क्षेत्र काँग्रेसका उमेद्वार हुने गरी सिट बाँडबाड गर्ने केन्द्रिय संयन्त्रले आधिकारिक निर्णय गरेको हो । हाम्रो प्रतिद्धन्दी जुन तरिकाले उत्साही भएको देखियो । हाम्रो साथीहरुबीच पनि कहि कतै दुर्घटनामा परिन्छकी भन्ने विष्लेषण भयो । गठबन्धनभित्र पनि यसलाई केही करेक्सन गरेर जान पाए ठिक हुन्थ्यो भन्ने मनोभावना देखियो । माओवादी केन्द्रको बैठक राखेर के गर्दा माओवादी आन्दोलनलाई केन्द्रित गर्न सकिन्छ भनेर छलफल भयो । हामी पात्र कोही पनि प्रधान होइनौ । आन्दोलन प्रधान हो । माओवादी र गठबन्धनलाई केन्द्रित गरेर ठिक, वैज्ञानिक र म्याग्दी जिल्लाको हितमा हुने निष्कर्ष निकाल्यौ । मेरो व्यक्तिगत हिसाबले अहित होला । अहिलेको गठबन्धनले सोचेको उद्देश्य पुर्ति गर्न सकिन्छ भन्ने मलाई व्यक्तिगत रुपमा लाग्यो । मसँग टिकट प्राप्त भइसकेको थियो । गठबन्धनको तर्फबाट आधिकारिक उमेद्वार बन्न मलाई कही बाधा अड्चन थिएन् । कहि कतैबाट सामान्य त्रुटी भयो भने पार्टीनै दुर्घटनामा जान सक्छकी भन्ने सुझावलाई मैले मनन् गरेर पार्टीको उद्देश्य पुर्ति र हितको निम्ति दुई वटा प्रदेश जितेर, दुई वटा प्रदेशमा सांगठनिक संरचनाको आधार तयार पारेर, यहाँका जनताको मनोभावना र मनोवललाई क्याच गरेर माओवादीलाई यो जिल्लामा उठाउन सकिन्छ भन्ने लाग्यो । त्यसैको प्रतिफल हो यो ।

सिट साटफेरका विषयमा भएको टिप्पणी र आरोपका विषयमा पौडेलको प्रतिक्रिया यस्तो छ ।

जो हिजो आर्थिक प्रलोभनमा किनबेच गर्दथे, तिनिहरुको नकारात्मक विषयबस्तु मात्र हो भन्ने लाग्छ । मेरो पार्टीसँग बसेको छु । पार्टीका सबै लिडरहरुसँग छलफल गरेको छु । कार्यकर्ताहरुको सुझाव लिएको छु । जिल्लाका लिडरहरुकै सुझावका आधारमा म वार्ता र छलफलमा बसेर टुंगो लगाएको हो । सम्पूर्ण म्याग्देली जनसमुदायहरुले मलाई राम्रोसँग चिन्दछन् । म नेपाली राजनीतिमा र मेरो जिवनमा कसैसँग एक पैसा लिने, कसैसँग यति लिनुहोस र यसरी काम गर्दिन्छु भन्ने पात्रको रुपमा मलाई कसैले देखेको छ भने त्यो प्रमाणसहित आवोस । म कुरवानी गर्न तयार छु । तर यो अफवाहहरुको विषयमा वाद विवाद गर्नु, क्रियाप्रतिक्रिया दिनु भनेको घृणालाग्दो विषय हो । जसले यस्ता क्रियाकलाप गर्छन तिनैका अफवाह र भ्रम मात्र हुन् ।

‘माओवादी र काँग्रेस हार्नु, जित्नु एउटै हो’

माओवादी चुनाव लड्न हिचकिचाएको होइन् । जिल्लामा गठबन्धनका दलहरुको जनमतलाई आधार मान्ने हो भने काँग्रेस ६० देखि ७० र माओवादी ३० देखि ४० प्रतिशत हो । अहिलेको परिस्थितिमा जिल्लामा हामी तेस्रो पार्टी हो । सांठनिक संरचना, २०७४ र पछिल्लो स्थानीय तह निर्वाचनको मतपरिणामलाई विष्लेषण गर्दा यस्तो फोटो देखिन्छ । त्यो फोटोलाई विष्लेषण गर्दा माओवादीका मत केही क्रस हुँदा पनि काँग्रेसलाई जित्न सजिलो हुन्छ । काँग्रेसका मत त्यो अनुपात र प्रतिशतमा क्रस हुँदा माओवादीलाई गाहे पर्छ । १०–१२ प्रतिशत काँग्रेसका मत तलमाथी हुदा पनि माओवादीलाई गाहे पर्न सक्छ भन्ने आँकलन मेरो छ । अहिले माओवादी हार्नु र काँग्रेस हार्नु भनेको एउटै हो । गठबन्धनको मुद्दा, जिल्लाको बस्तुअवस्था र विषयबस्तुका विषयमा सबै जानकार हुनुहुन्छ भन्ने मेरो बुझाई हो ।

संघीय लोकतान्त्रिक गठतन्त्र, संबिधानसभाद्धारा जारी भएको संविधानलाई बलात्कार गर्न चाहनेको बिजय र जसले संविधान, व्यवस्था र उपलब्धीको संरक्षण तथा संस्थागत गर्न खोजेको उसको हार हुने परिस्थितिको सिर्जना हुने अवस्था आयो भने म्याग्दी जिल्लाको लागि यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन् । अहिले म्याग्दी जिल्लामा एमालेको एकांगी अहंकारवाद अन्त्य गर्नको निम्ती यो भन्दा राम्रो विकल्प हुन सक्दैन् । यो मेरो आफ्नो पहलकदमी, प्रयास र सुझावलाई पार्टीको केन्द्रले सहर्ष स्विकार ग¥यो । हामी यो तरिकाले जान्छौ भनेर लिडरहरुको धारणा बुझ्यौ । हामीले टिकट चेन्ज गर्न सक्दैनथ्यौ । उमेद्वार परिवर्तन गर्न सक्दैनथ्यौ । कसैको ढोका नधकधकाईकन र नेताहरुको चाकडी नगरीकन यही बसेर पार्टीले मलाई उमेद्वारको टिकट दिने सौभाग्य पाएको थिए । मलाई ठुलो किसिमले मूल्याङ्कन गरेको थियो । त्यही हुदा हुदै पनि विशुद्ध पार्टी होइन, म्याग्देली जनता हुन । म्याग्देली प्रतिगमनकारीहरुको अहंकारवाद अन्त्य गर्नका निम्ति सिंगो गठबन्धनलाई जिताउनुपर्छ । गठबन्धनमा आवद्ध दलहरु मध्यबाट केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने लिडर भएको हिसाबले गठबन्धनलाई यो जिल्लामा बिजय गराउनु मेरो दायित्व हो । गठबन्धनका उमेद्वारलाई बिजयनै गराएर छोड्छु भन्ने मेरो प्रतिवद्धता हो ।