हङकङमा रहेका प्रवासी म्याग्देली चक्रिय धौलागिरि पदयात्रामा निस्किए (तस्बिर/ भिडियो

बेनी, २६ असोज : हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने साहसिक पदयात्रा बुधवारदेखि सुरु गरिएको हो ।

 

मोना हङकङमा आबद्ध १० जना सहित सञ्चारकर्मी, पथप्रर्दशक र सहयोगी समेत गरि करिब ३२ जनाको टोली बुधवार बेनीबाट धौलागिरि आधार शिविरतर्फ प्रस्थान गरेका छन् । साहसिक यदमार्गको रुपमा परिचित चक्रिय धौलागिरि पदमार्गको प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सामुहिक पदयात्रा आयोजना गरिएको मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले बताउनुभयो ।

‘‘सम्भावना अथाह भएर पनि ओझेलमा परेको यस पदमार्गलाई प्रचार प्रसार गर्ने उदेश्यले पदयात्रा सुरु गरेका छौँ, हाम्रो यो यात्राले विश्वभर छरिएका म्याग्देलीहरुलाई पनि जन्मथलो फर्कने सन्देश दिने अपेक्षा लिएका छौँ’’– अध्यक्ष पुनले भन्नुभयो । टोलीमा कर्ण पुन, मनु पुन, प्रमोद गिरि, सुनिता पूर्जा पुन, देबेन्द्र फगामी , मन्दिरा फगामी, राजु गर्बुजा पुन, देवामाया पुन , इन्द्र एलजी थापा मगर, र लक्ष्मी थापा मगर सहित तीन सञ्चारकर्मी सहित पर्यटक गाईड र सहयोगीहरु सहभागी छन् ।

बेनीदेखि दरबाङ–ताकम–मुना–मुदी–बगरा गाउँ हुँदै धौलागिरि आधार शिविर पुगेर त्यहाँबाट धौलागिरि हिमाललाई फन्को मार्दै मुस्ताङको लेते निस्कने गरि १२ दिनमा पदयात्रा सकिने मोना हङकङका महासचिब जेबेन्द्र फगामीले बताउनुभयो । उक्त पदयात्रामा निस्कीउको टोलीलाई बुधवार विहान बेनी नगरपालिकाका मेयर सुरत केसी, ,धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँ, ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य लगायतले विदाइ गर्नुभएको छ ।

मोना हङकङको सामुहिक पदयात्राले ओझेलमा परेको धौलागिरि क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउनुको साथै संसारभर छरिएर रहेका म्याग्देलीहरुलाई जन्मथलोको विकास र सामाजिक क्षेत्रमा थप क्रियाशिल हुन सन्देश दिने धौलागिरि पर्यटन परिषदका अध्यक्ष बानियाँले बताउनुभयो । हिमाल आरोहण , आधार शिविर क्षेत्रको भ्रमणसंगै सिंगो धौलागिरि हिमाललाई फन्को मार्न सकिने भएकाले धौलागिरि हिमाल विदेशी पर्यटकहरुको रोजाइमा पर्ने गरेको भएपनि पदमार्ग, खानेपानी, होटल, सञ्चार लगायतको अभाबमा यो क्षेत्रमा ओझेलमा परेको छ ।