नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : म्याग्दीमा अन्तिम चरणमा

  • २५ आश्विन २०७९, मंगलवार
  • 449 पटक पढिएको

म्याग्दी, २५ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २७ गतेदेखि म्याग्दीमा सुरु हुदै छ । प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरे पनि बजेट र खेल सामग्री नआएको जनाएको छ ।

समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेलकुद परिषद्ले बिनियोजन र पदाधीकारीले घोषणा गरेको बजेट समयमा जिल्लामा नपठाउँदा तयारीका साथै व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए । भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङ्गरोगन गरिएको छ । बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ्ग लगाइएको छ ।

राखेपले पहिलो चरणमा तयारीका लागि रु पाँच लाख बजेट पठाउने घोषणा गरेपनि नपठाएको अध्यक्ष केसीले बताए । बेनी नगरपालिका लगायत जिल्लाका स्थानीय तह र समितिको आन्तरिक स्रोतबाट अहिलेसम्म तयारी गरेपनि राखेपबाट बजेट नआउँदा थप तयारी गर्न समस्या भएको छ । महिला भलिबलमा सहभागि हुने गण्डकी, बाग्मती प्रदेश, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताए । तेक्वान्दोका खेलाडीहरू २६ गतेसम्म बेनी आइपुग्ने समितिले जनाएको छ ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउँदैछन् । होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।