अबिरल वर्षाले मार्फाको फाराम खोला उर्लियो, स्थानीय त्रसित

  • २१ आश्विन २०७९, शुक्रबार
  • 606 पटक पढिएको

जोमसोम १९ असाेज । मुस्ताङको मार्फास्थित फाराम खोला उर्लिदा स्थानीय त्रसित बने । लगातारको अविरल वर्षासँगै शुक्रबार बिहान ४ बजेदेखि फाराम खोलाको बाढी उर्लिन थालेको हो । बाढीले मार्फास्थित कालोपत्रे सडक र आशिंक स्याउबारीमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षासँगै एकसाथै बाढी उर्लिएर आएपनि तत्कालको जोखिम भने टरेको बताइएको छ । मार्फास्थित धौलागिरी हिमालको फेदबाट बग्ने फाराम खोला अकल्पनीय रुपमा उर्लिएको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए ।

उनका अनुसार खोलाको बहावले मार्फा सामुदायिक भवनलगायत त्यस आसपासका केही घर उच्च जोखिममा परेका थिए भने स्थानीय र शितोष्ण वागवानी विकास केन्द्रको स्याउबारी जोखिममा परेको थियो ।

बाढीले हिमालको फेदबाट लेदो माटो ,गेग्रान र रुखहरु बगाएर बस्ती नजिक ल्याइ पुर्‍याएको थियो । बाढीले मार्फा–टुकुचे राष्ट्रिय राजममार्ग सडक समेत अवरुद्ध बनाएको थियो ।

मार्फाको फाराम खोलामा बाढी आएपछि घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन,वडाध्यक्ष, कार्यपालिका सदस्यहरु,जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीयबासी बाढीग्रस्त क्षेत्रमा पुगेका थिए । गाउँपालिकाको पहलमा अहिले डोजर परिचालन गरी फाराम खोलालाई नियन्त्रणमा लिइएको छ । मार्फाका स्थानीय अमर घतानेले बाढीले खोलाको स्पेशमा पुरै लेदो माटोले भरिएको र पुन बाढी आएमा ठूलो विपद् निम्तन सक्ने उल्लेख गरे ।

यसअघि बुधबार पनि अविरल वर्षाले मार्फा सामाग्री स्थित करिब १ सय मिटर कालोपत्रे सडकमा ठाडो खोलाको बाढीले सडक अवरुद्ध बनेको छ भने मुस्ताङको खन्तीमा पनि सडक अवरुद्ध छ ।

योसँगै राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा सडक अवरुद्ध छ । निरन्तर वर्षा भइरहेकाले सडक मर्मत गरी सडक आवागमन सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।

यस्तै,लगातारको वर्षाका कारण उपल्लो मुस्ताङका उच्च पहाडि क्षेत्रमा हिमपात भइरहेको लोमान्थाङ–५ का वडासदस्य छेवाङ रिङझिङ गुरुङले जानकारी दिएका छन्।