भगवती काेत मन्दीरमा राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बोलकबोल !

  • १८ आश्विन २०७९, मंगलवार
  • 513 पटक पढिएको

बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले सबैले भन्दा धेरै रु ३ लाख १५ हजार रकम तिर्ने कबोल गरेरे सरकारी बलीको मार हान्ने हुनुभएको छ ।
केसीले सोमबार नै कबोल रकम पुजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यस अघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु ३ लाखमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पुजा व्यवस्थापन समितिका सचिब कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।
भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । ‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’–अध्यक्ष मल्लले भन्नुभयो । तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।
नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई बर्ष अघि रु ६९ लाख खर्चेर पुननिर्माण गरेको छ । यसैबिच रघुगंगा गाउँपालिका–३ को मौवाफाँट कोतमा दिनेश चन्दले रु ५० हजार १ सय रुपैयाँ बढीबढाउ बोलकबोल गरेर सरकारी मार हान्ने हुनुभएको छ । यहाँ पनि सरकारी मार हान्न आकांक्षीहरुबिचमा बढीबढाउ गर्ने चलन रहेको छ । त्यसैगरी पिप्ले कोत मन्दीर मा रु ९४ हजार ५ सय बोलकबोल गरी बचन मल्ल ले मार हान्ने हुनु भएको छ ।