राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

  • १४ आश्विन २०७९, शुक्रबार
  • 351 पटक पढिएको

म्याग्दी १४ असाेज । पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको थियो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बुग्लको पहिरो पन्छाएर पहुँचमार्ग सञ्चालन गरि बाँध र १ नम्बर अडित निर्माण सञ्चालन गरिएको जानकारी दिनुभयो । “बाँध निर्माणस्थल जोड्ने पहुँचमार्ग मर्मतपछि सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “पहुँचमार्ग सञ्चालन भएपछि अब बाँध र पहिलो नम्बरको अडिट निर्माणको कामले गति लिन्छ ।”

बुग्लमा करिब दुई सय मिटर सडक बर्खायाममा पहिरो खसेर अवरुद्ध हुने गरेको छ । गत वर्ष पनि बुग्लको पहिरोले राहुघाट जलविद्युत् आयोजना निर्माणको काम करिब तीन महिना प्रभावित भएको थियो ।

राहुघाट जलविद्युत् आयोजना निर्माणस्थल म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा हो । रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँध बनाउन ढलानको काम थालिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले बताउनुभयो ।

समग्रमा आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ । कूल छ किलोमिटर दुई सय ७० मिटरमध्ये तीन किलोमिटरभन्दा बढी सुरुङ निर्माण सकिएको छ । बाँध निर्माणस्थलमा अडिट एक, अँधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं चार छन् ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियटस ९जेपी०ले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम एकैसाथ गरिरहेको छ । तिल्केनीचौरमा विद्युत्गृहको टर्वाइन रहने ठाउँभन्दा माथिसम्म ढलान भइसकेको छ ।

भारतीय आयात निर्यात ९एक्जिम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियस ९जेपी०सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल०ले आफ्नो कामलाई तीव्रता दिएको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो । रासस