मोनाको आठौं बार्षिक साधारणसभा असोज २४ र २५ गते ताकममा हुने

  • १३ आश्विन २०७९, बिहीबार
  • 573 पटक पढिएको

म्याग्दी १३ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आठौं बार्षिक साधारण सभा धवलागिरि गाउँपालिका–७ ताकममा हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा हुने महिला भलिबल प्रतियोगिताको मितिसंग जुधेपछि मोनाले असोज २७ गतेदेखि गर्ने भनेको साधारणसभाको मिति हेरफेर गरेर निर्धारित मिति अगाडी सारेर साधारण सभा सम्पन्न गर्न लागिएको हो ।

ग्रामणि पर्यटकीय बस्ती ताकमको ताकम माविको प्राङ्गनमा हुने साधारणसभालाई असोज २४ र २५ गते गर्ने निर्णय भएको मोनाका सचिब सुवोध बरुवालले जानकारी दिनुभयो । जिल्लाको पहिचानलाई स्थापित गर्ने अभियानमा मोनाको सधै साथ र सहयोग रहेकाले साधारणसभा सम्पन्न गर्न सम्बन्धित सरोकारवालासंग सहकार्य गरि तयारी सुरु गरेको मोनाले जनाएको छ ।

विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाको बार्षिक साधारणसभाको अवसरमा अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता, म्याग्दीको पहिचान थाली र पुख्यौली नाच सहित विविध कार्यक्रम समेत रहेको जनाइएको छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ ।

यसपटक ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई कार्यतालिकामा प्राथमिकता दिइएको मोनाले जनाएको छ । कार्यक्रममा समावेश गरिएको पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथमलाई रु १ लाख, द्धितियलाई रु ५० हजार, तृतीयलाई नगद रु २५ हजार र सान्त्वनालाई नगद रु १५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताउनुभयो । मोनाको विश्वभर २८ देशमा राष्ट्रिय समिति,५ वटा क्षेत्रीय समिति रहेका छन् । ताकम धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा परिचित छ भने ऐतिहासिक ताकमकोतको कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।