हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

  • १३ आश्विन २०७९, बिहीबार
  • 987 पटक पढिएको

फाइल तस्विर ।

म्याग्दी १३ असाेज । नेपालीको महान चाड बडादसैँ हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दसैँकाे रौनक र मौलिकता भने कतै देखिएको छैन । दसँै सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो । रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ । विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ)पुरिदै गएका छन् ।

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । म्याग्दीका ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन सुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका बाबुराम उपाध्यायले बताउनुभयो । एक समय थियो, दसँै भित्रिदै गर्दा रातोमाटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो ।

बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दसँैको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ । दसँैमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्ला भरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो । दसँै सुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका मड्किनामा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । तर, अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगन्य रहेको स्थानीयवासी हेमकुमारी सापकोटाले बताउनुभयो ।

त्यसैगरी दसँैका लागि आवश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने, पिध्ने गरिन्थ्यो । तर अहिले यी सबै चलन एकादेशको कथामा परिणत भएका छन् । गाउँघरमा ढिँकीजाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिँकीजाँतोदेखि नै छोडेका छन् । दसँैमा यी प्रचलन सबै लोप हुँदै गएका छन् ।

दसँै पहिलेको भन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुक कोटका रामकृष्ण घिमिरेले बताउनुभयो । रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर (रङ)लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एकजना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । “गोरेटो बाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप हँुदै गएका छन् । दसँैका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिँकीजाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ । दसँैको मौलिकता नै हराउँदै गएको छ”, पश्चिम म्याग्दीको रणबाङका पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो ।

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दसँैं पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ । पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसँैं मनाइन्थ्यो । अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दसँैं दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन् । रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दसँैको आभाष हुने गरेको थियो ।