भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको १७ औँ साधारण सभा सम्पन्न

  • १३ आश्विन २०७९, बिहीबार
  • 559 पटक पढिएको

 

म्याग्दी १३ असोज । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा विहिवार बेनीमा सम्पन्न भएको छ । बेनीको काटेभण्डारटोलमा मुख्य र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र मार्फत सेवा दिँदै आएको सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा करिब रु ३ करोड आम्दानी गरेको छ । कुल रु १८ करोड ६८ लाख ५४ हजार ६ सय ६० रुपैयाँ लगानी गरेको सहकारीले रु २ करोड ९७ लाख ८ हजार ३ सय ५० आम्दानी र रु २ करोड ५६ लाख ९६ हजार ६ सय ६२ रुपैयाँ खर्च भएको जनाएको छ ।

उक्त अवसरमा सहकारीले दुई गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान समेत गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बेनी नगरपालिका–५ पुलाचौर स्थित जनकल्याण माविका संगीता दर्जि र बेनपा–९ घतानको गलेश्वर माविका युउसन शाहीलाई जनही नगद रु ७ हजार ५ सयका दरले छात्रावृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण सुवेदी र संस्थापक अध्यक्ष क्याप्टेन नन्दबहादुर छन्त्यालले विद्यार्थीहरुलाई उक्त छात्रावृत्ति प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष छन्त्यालले सहकारीको सिद्धान्त र मर्म अनुरुप सञ्चालन भएको कारण भूतपूर्व सैनीक सहकारी मार्फत कारोवार गर्नेहरुको सख्ंया बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले बचत संकलन र ऋण लगानीमा ग्राहकको मन जित्दै सन्तुष्ट बनाएर सेवा दिनु चुनौतिपूर्ण कार्य रहेको बताउँदै सहकारीको लगानीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्न सञ्चालक समिति र शेयर सदस्यहरुलाई आग्रह समेत गर्नुभयो । सहकारीका अध्यक्ष सुवेदीले कोरोना महामारी र वित्तिय क्षेत्रमा देखा परेको तरलताको अभाबका बिच सहकारीको कारोवार र आम्दानी सन्तोषजनक रहेको बताउनुभयो ।

उहाँले छिट्टै थप दुई सहकारी एकिकरणको प्रकृयामा आउन लागेको बताउँदै जिल्लाको अन्य स्थानीय तह, व्यापारीक केन्द्र र छिमेकी जिल्लाहरुमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याएर सहकारीको कारोवारलाई थप विस्तार गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका सल्लाहकार रेशम छन्त्याल, शेयर सदस्य सुवेदार तुलबहादुर छन्त्याल, कमल खत्री लगायतले सहकारीको सिद्धान्तलाई आत्मसाथ गरि आर्थिक कारोवार गरेमा सहकारीको गरिमालाई जोगाइराख्न सकिनेमा जोड दिँदै शेयर सदस्यहरुलाई सहकारी शिक्षाबारे प्रशिक्षण सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीले प्रस्तावित योजना सहितको प्रतिवेदन, सहसचिब मुक्तिनाथ सुवेदीले प्रगति, कोषाध्यक्ष हिरा प्रसाद श्रेष्ठले आर्थिक र लेखा संयोजक रामबहादुर पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीले गत आ.ब.मा उत्कृष्ट कारोवार गर्नेहरुमध्ये बचततर्फ दलबहादुर भण्डारी, खड्कबहादुर खत्री, रेमिट्यान्सतर्फ कमला केसी र उत्कृष्ट कर्मचारीको रुपमा कर्जा सहायक सज्जन श्रेष्ठलाई दोसल्ला ओढाएर प्रसंसापत्रद्धारा सम्मान गरेको छ । सहकारीका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष झलप्रसाद गौचनको स्वागत र सदस्य लेखबहादुर हमाललको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ५० कित्ताभन्दा माथि लगानी गरेका २७९ जना शेयर सदस्य रहेको यस सहकारीमा चार करोड ३२ लाख ९ हजार ७ सय शेयर पुँजी रहेको छ भने १७ करोड ५१ लख २१ हजार ६ सय ८० रुपैयाँ बचत संकलन रहेको छ ।