भुरुङ तातोपानीमा धौलागिरीकै ठूलो क्षमताको ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा (तस्बिर र भिडियो सहित)

  • १२ आश्विन २०७९, बुधबार
  • 1396 पटक पढिएको

कमल खत्री
बेनी, १२ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङतातोपानीमा व्यवसायि राजु हमालले करिब रु ३५ करोड लगानीमा यस क्षेत्रकै ठूलो क्षमताको होटल सञ्चालनमा ल्याउनुभएको हो ।

करिब ८ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापन सहित तीन बर्षको अवधिमा ६ तलाको भवन निर्माण सम्पन्न गरि ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ लाई औपचारिक रुपमा सञ्चालनमा ल्याइएको सञ्चालक हमालले बताउनुभयो । हमालले यस अघि सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएको थियो । विजया दशमीको पहिलो दिन घटस्थापनाको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको होटलमा रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा सहितको ५७ वटा कोठाहरुको व्यवस्था रहेको छ ।


यस होटलमा एक दिनमा करिब २ सय जनालाई राख्न सकिने क्षमता रहेको प्रा.लिले जनाएको छ । ‘‘सुरुवातमा हामीले रु २५ करोडको लगानी अनुमान गरेका थियौँ, कोरोना महामारी, बन्दाबन्दी, निर्माण सामाग्रीमा भएको मुल्यबृद्धि र भौतिक संरचनाहरुमा गरिएको थप पूर्वाधार निर्माणले गर्दा लगानी बढेको छ, हामीले लगानी अनुसारकै स्तरीय सेवा र सुविधा ग्राहकलाई दिन्छौँ’’–उहाँले भन्नुभयो ।


सञ्चालक हमालका अनुसार, होटलको अधिकाँश भौतिक संरचनाको काम सकिएको छ । लिफ्ट सहितका केहि उपकरणहरुको जडान कार्य भने भैरहेको छ । पार्किङ सहित दृष्य अवलोकनका लागि कृतिम झरना,लगायतका आकर्षक संरचनाहरु समेत निर्माण गरिएको छ । होटलमा १५० जना क्षमताको सेमिनार हल तयार गरिएको छ भने मसाज, क्याफे र लोकलमार्ट समेत सञ्चालनमा ल्याउने प्रा.लिले जनाएको छ ।


सुविधामा समेत स्टार होटलका सुविधा उपलब्ध गराउने लक्ष्य लिएको यस होटलको औपचारिक सुभारम्भ संगै आन्तरिक तथा बाह्य पर्यटकहरुले होटल बुक गर्न थालेको सञ्चालक हमालले जानकारी दिनुभयो । होटलका सबै कोठाहरुबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खालको अवलोकन समेत गर्न सकिने सुविधा रहेको छ ।

लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरी क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिब एवम् पर्यटन व्यवसायि अमृतमान शेरचनले बताउनुभयो । ‘‘म्याग्दी हुँदै मुस्ताङ आवत जावत गर्ने पर्यटकहरुका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको छ, बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकहरुलाई आरामदायि सुविधा सहितको होटल सञ्चालनमा आउँदा यस क्षेत्रका अन्य पर्यटकीय क्षेत्रहरुको समेत प्रवद्र्धनमा सघाउ पुग्ने हामीले विश्वास लिएका छौँ’’–उहाँले भन्नुभयो ।


यो होटल सञ्चालनमा आएसंगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरि एक रातमा करिब १ हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमाल पारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरुको चाप बढ्ने र पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायि शेरचनले जानकारी दिनुभयो ।