एउटै च्याङ्ग्राको मुल्य ५० हजार ! तिब्बतबाट नआएपछि मुल्य आकासियो (तस्बिर र भिडियो)

  • ११ आश्विन २०७९, मंगलवार
  • 445 पटक पढिएको

म्याग्दी ,११ असोज । यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढेको छ । नेपाल र चीनको सिमाना कोरला नाका बन्द हुँदा यसवर्ष पनि भेडाच्याङ्ग्राको मागमा मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडाच्याङ्ग्रामा मात्रै सिमित भएको छ । उत्पादन सिमित भएकाले व्यापारीहरुले मुल्य बढाएका छन् ।

 

 

मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मुल्य रु ५० हजार सम्म पुगेको छ । चार जनाको समूहले ३५० वटा च्याङ्ग्रा खरिद गरेर बेनी हुँदै काठमाण्डौतर्फ च्याङ्ग्रा लैजाँदै गरेका विष्णुभक्त श्रेष्ठले उत्पादन नबढ्ने र मुल्य मात्रै बढ्दा व्यापारी र उपभोक्ता दुबैलाई मार परेको बताए ।
उनका अनुसार, गत बर्षको तुलनामा मुस्ताङमै च्याङ्ग्राको मुल्य प्रतिगोटा ४ देखि ५ हजारसम्म बढेको छ । मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्याङ्ग्रा भएकाले पनि मुल्य बढेको हो । घरकै खोरमा पालेको च्याङ्ग्रा स्वस्थकर हुने भएकाले त्यसको माग पनि बढी हुने गर्छ ।
मुस्ताङमा व्यापारीहरुले च्याङ्ग्रालाई प्रतिगोटा रु ४२ हजारसम्म मुल्य परेको बताएका छन् । केहि बर्ष अघि सम्म २० देखि २२ हजारमा पाईने च्याङ्ग्राको मुल्य यस बर्ष दोब्बरले बढेको अर्का व्यापारी ज्ञानकुमार श्रेष्ठले बताए ।
कोभिड–१९ का कारण विगत तीन वर्षदेखि उत्तरी कोरला नाका बन्द छ । नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्यांग्रा खरिद गर्न नपाउँदा यस वर्ष पनि भेंडाच्यांग्राको संख्या न्यून भएको मुस्ताङका व्यापारीहरुको भनाई छ । जोमसोम र लेते मा पशु चिकित्सकहरुले मुस्ताङबाट बाहिरिने भेंडाच्यांग्राको स्वास्थ्य परिक्षण गरि निरोगिताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ ।