मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

  • ११ आश्विन २०७९, मंगलवार
  • 535 पटक पढिएको

 

म्याग्दी १० असोज । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो । संस्थाका अध्यक्ष लिलाराम गौतमले ४०० जना भन्दा बढी सदस्यको सात करोड रु. ८४ लाख १८ हजार ४०० सेयर पुजि रहेको बताउनुभयो ।

गत वर्ष रु. ४४ करोड ७७ लाख १३ हजार ७२९ बचत र रु. ५१ करोड ७७ लाख ३५ हजार ६५६ लगानी गरेको छ । वि.स. २०६५ मा स्थापना र म्याग्दी जिल्लाभर कार्यक्षेत्र भएको सहकारीले बेनीको न्युरोड स्थित मुख्य, रघुगंगाको केन्द्र मौवाफाँट र बेनपा–९ घतानको सेवा केन्द्रबाट सेवा दिदै आएको छ । संस्थापक हिराबहादुर केसीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गरेको सहकारीले शेयर सदस्यका परिवारमा सुख र दुखमा साथ दिने कार्यक्रम चलाएको छ ।

साधारणसभाको अवसरमा संस्थाले पत्रकार सन्तोष गौतम, २०७८ को एसइईमा चार जिपिए ल्याएका सञ्चालक समिति सदस्य टेकप्रसाद सापकोटा सहित सेयर सदस्यका स्नाकोत्तर उतिर्ण सेयर र चौरासी वर्ष पुगेका अभिभावकलाई पुरस्कृत गरेको थियो । सिनियर प्रबन्धक तेजनाथ पौडेल र मौवाफाँट सेवा केन्द्रकी लेखापाल सुमित्रा शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।

पशुपतिनाथ शर्मा, लक्ष्मी सुवेदी, दण्डपानी शर्मा, सोभाकान्त सुवेदी, दुतमाया पाइजा र पुष्पा कार्की खत्रीलाई उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यको सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारीले आर्थिक गतिबिधीका साथै सामाजिक रुपान्तरणमा पनि अभियान चलाउनुपर्ने बताउनुभयो ।

सहकारीका आर्थिक सामाजिक रुपान्तरणका अभियानमा नगरपालिकाले पनि सघाउने प्रतिवद्धता जनाउनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले स्थानीय तहका सहकारी शाखाको वेवास्ताका कारण सहकारी संस्था नियमन हुन नसकेको र केही संस्थामा समस्या देखिएको बताउनुभयो ।

संस्थाका सल्लाहकार शेरबहादुर केसीले ब्याजदर बढाउन भन्दा पनि सहकारीले आफ्ना सेयर सदस्यलाई बैंकको तुलनामा सस्तो दरमा कर्जा सुविधा दिन सक्नुपर्ने बताउनुभयो । अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, सचिव डण्डपाणी पराजुलीको सञ्चालन र उपाध्यक्ष दण्डपाणी सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सेयर सदस्य देवराज शर्माले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष लिलाराम गौतमको पुन नेतृत्वमा सहकारीको नयाँ नेतृत्व चयन गरिएको छ ।