हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

  • १० आश्विन २०७९, सोमबार
  • 841 पटक पढिएको

बेनी, १० असोज : बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मि बढेसंगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडीभेगतर्फ झार्न लागिएको हो । हिमालका बुकीहरुमा चिसो बढेसंगै भेडीगोठलाई विस्तारै तलतीर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन् ।

म्याग्दीका गुर्जा, मुदी, ओखरबोट, मल्कबाङ, मराङ, कुइनेमंगले, चिमखोला, भगवती, दोवा, दाना, पाउद्धार लगायतका क्षेत्रमा व्यावसायिक भेडापालन हुँदै आएको छ । गुर्जाको चुरेन र पुथा आधार शिविरमा रहेका भेडीगोठ गाउँतर्फ सार्न सुरु गरिएको छ । हिमाली क्षेत्रमा करिब तीन महिनासम्म रहने भेडीगोठलाई विस्तारै पहाडी जंगलतर्फ सारिएको विगत ६ बर्षदेखि व्यावसायिक भेडापालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताउनुभयो ।

‘‘धौलागिरि आधार शिविरसम्म नै गोठ पु¥याएको थिएँ, चिसो बढ्न थालेपछि अहिले मयाले डाँडामा गोठ झारेका छौँ, अब विस्तारै यहाँबाट पनि वेशीतर्फ नै गोठ सार्छौ’’–उहाँले भन्नुभयो । मलम्पारका भविराम छन्त्याल र संकर छन्त्यालले पनि च्यामली आधारशिविरमा राखेको भेडीगोठलाई कोपा र धुरीबाङ खर्कमा सार्नुभएको छ ।

रघुगंगा गाउँपालिकाको चिमखोला र कुइनेमंगलेका भेडापालक कृर्षकहरुले चौरवन, रिखार, कालीबराह लगायतका बुकीहरुमा राखेका भेडीगोठलाई खर्कतीर सार्न थालेका छन् । धवलागिरि गाउँपालिका–४ मुदीका झर्सिङ मगर, खिमकल मगर र चनप्रसाद मगर लगायतले पनि हिमाली बुकीहरुबाट सिङकोसतर्फ भेडीगोठ सार्न थाल्नुभएको छ ।

मुस्ताङ र म्याग्दीको हिमाली बुकीसम्म गोठ लगेका रघुगंगा गाउँपालिकाको भगवती र बेगका भेडापालकहरुले समेत गोठलाई पहाडी क्षेत्रमा ल्याइसकेका छन् । उता अन्नपूर्ण गाउँपालिका–५ खयरखोला र वडा नम्बर ३ दानाको लेकमा रहेका गोठहरु पनि न्यानो र चरनका लागि लेकका बुकीबाट खर्कतर्फ झेरेका छन् । चरन, न्यानो र विक्रिका लागि पनि गोठहरुलाई लेकका बुकीबाट वेशीतर्फ लैजानेका सुरु भएको पाउद्धारका भेडापालक कृषक लालविर तिलिजाले जानकारी दिनुभयो ।