पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग

  • ८ आश्विन २०७९, शनिबार
  • 445 पटक पढिएको

 

बेनी, ८ असोज । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ । सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो । प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक विज्ञप्ति जारी गरेर धम्की दिने व्यक्ति यथास्रिघ पहिचान गरि कानुनी कारबाहीका साथै पत्रकार सिंह र उहाँका परिवारको भौतिक सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग माग गर्नुभएको छ ।

“सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका विषयामा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सीलमा उजुरी गर्ने लगायत विकल्प हुँदा हुदै गलत तरिका र प्रविधिको दुरुपयोग गरेर धाकधम्कीमा उत्रिनु अपरोध हो,” विज्ञप्तिमा भनिएको छ “पत्रकारलाई धम्काएर त्रास सिर्जना गराई नागरिकलाई सत्य, तथ्य सूचना पाउने अधिकार कुण्ठित बनाउने मनसायले यस्तो गतिबिधी भएको संगठनको ठहर छ ।” स्वतन्त्र र भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण सिर्जना गराउन पनि संगठनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । फेसबुकमा संकास्पद ठेगाना बनाएर परिवारका सदस्यहरुलाई डर, त्रास सिर्जना गरी ज्यानै लिनेसम्मको धम्की आएको सिंहले बताउनुभएको छ । यसअघि प्रेस सेन्टर बाग्लुङ र पत्रकार महासंघ बाग्लुङ शाखाले सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै धम्काउनेलाई पहिचान, कारबाही र सुरक्षाको माग गरेका थिए ।