म्याग्दीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी सुरु

  • ६ आश्विन २०७९, बिहीबार
  • 531 पटक पढिएको

बेनी, ६ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन आबश्यक तयारी सुरु गरिएको छ । असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म बेनीमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुले आबश्यक तयारी सुरु गरेका हुन् ।


जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बुधवार बेनीमा भएको सर्वपक्षिय छलफल तथा अन्र्तक्रिया कार्यक्रमबाट प्रतियोगितालाई ‘खेल महोत्सव’का रुपमा सम्पन्न गर्न आबश्यक तयारीलाई तीब्र बनाउने निर्णय गरेको छ । उक्त बैठकले जिसस प्रमुख थापाको संयोजकत्वमा प्रतियोगिताको व्यवस्थापन अनुगमन सल्लाहकार समिति गठन संगै प्रतियोगितालाई शान्त, सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला स्थित सरोकारवाला निकायसंग थप छलफल गरि व्यवस्थापकीय तयारीलाई तीब्रता दिने निर्णय गरेको छ ।
म्याग्दीमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दुई प्रतियोगिता सञ्चालन हुन लागेको बताउँदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकतर्फ मात्रै ६१७ जना सहभागी हुने जानकारी दिनुभयो । उहाँका अनुसार, महिला भलिबलको प्रतियोगिता बेनी स्थित खुलामञ्च र तेक्वान्दो प्रतियोगिता बेनीकै बहुउदेश्यीय कवर्डहलमा सञ्चालन गरिनेछ ।
राष्ट्रिय महिला भलिबलमा ११ टिम सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि खेलकुद मैदान व्यवस्थापनको कार्य सुरु गरिएको छ । यो प्रतियोगिताले म्याग्दीमा खेल पर्यटनको सन्देश दिने भएकाले खेलकुद विकास समितिले सबै पक्षसंग आबश्यक समन्वय र सहकार्य गर्दै प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने जिसस प्रमुख थापाले बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले प्रतियोगितालाई उत्सवका रुपमा सम्पन्न गर्नका लागि खेलकुद विकास समिति संगै जिल्ला स्थित स्थानीय तह, सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था र सरोकारवालाहरुले सहकार्य गर्नुपर्ने बताउनुभयो । बैठकले खेलाडीहरुको स्वागतका लागि स्थानीय समुदाय, आरमदायि बसोबासकाका लागि होटल व्यवसायि र प्रतियोगितामा आउने खेलाडी तथा दर्शकहरुलाई सहज रुपमा आवत जावतका लागि बेनी–मालढुंगा सडक, बेनी–बागलुङ सडक संगै जिल्लाभित्रका सडकहरुलाई समेत स्तरीय बनाउन सम्बन्धित सरोकारवालासंग आबश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरि सुरक्षाको लागि जिल्ला सुरक्षा समिति, प्राथमिक उपचारका लागि बेनी अस्पताल, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीसंग समन्वय गरिने भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रतियोगितालाई शान्त र मर्यादित बनाउनका लागि तयारीका क्रममा सम्बन्धित सरोकारवालासंग समन्वय गर्दै व्यवस्थापकीय पक्षलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सुरक्षा निकाय, जनप्रतिनिधि, होटल व्यवसायि संघ, उद्योग बाणिज्य संघ, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको छ ।