युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै

  • ५ आश्विन २०७९, बुधबार
  • 805 पटक पढिएको

म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ ।


रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको भुँइतलामा ‘ऐश्वर्य अर्गानिक रेष्टुरेण्ट एण्ड रमाईलो घर’ सञ्चालनमा ल्याउनुभएको छ । आफ्नो रेष्टुरेण्टमा यस क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादनको स्वादलाई प्राथमिकता दिएर खाना तथा खाजाका परिकार बनाइने कार्कीले बताउनुभयो ।
उहाँका अनुसार, रेष्टुरेण्टमा आउने ग्राहकले खाजामा मकैभट्ट र मोही, कोदो, फापर, गहुँको पिठोको रोटी र चटनी, खानामा स्थानीय पिठोको ढिँडो, धानको चामलको भात, सिमीको दाल, आलु, गुन्द्रुक, सिस्नुको तरकारीका साथै यस क्षेत्रमै उत्पादन हुने खसीबोकाको मासुको स्वाद लिन पाउने छन भने तेलको प्रयोग हुने सबै परिकारमा गाइभैसीँको घिउको प्रयोग गरिनेछ ।
‘‘ रेष्टुरेण्टमा हामीले अर्गानीक उत्पादन र परिकारलाई प्राथमिकता दिन्छौँ, स्वास्थ्यलाई हानी नपु¥याउने र स्वस्थकर परिकारको स्वाद दिने हाम्रो संकल्प हो, ग्राहकको चाहना अनुसार विकल्पको रुपमा स्तरीय मम, चाउमिन लगाएतका फाष्टफुडका परिकार समेत बनाउँछौँ’’–उहाँले भन्नुभयो । दशैँ र तिहारको एक महिना औपचारिक उद्घाटन मानेर विशेष छुटमा खाजा, खाना खाने प्रवन्ध मिलाउने सञ्चालक कार्कीले बताउनुभयो । उक्त रेष्टुरेन्टमा साताको कम्तीमा एक पटक जिल्लाका मौलिक लोकदोहोरी, स्थानीय व्याण्ड र कलाकारहरुको साँगितिक साँझको प्रस्तुती समेत राख्ने जनाइएको छ ।
रेष्टुरेण्टमा करिब २५ लाख लगानी भएको कार्कीको भनाई छ । ग्राहकलाई आकर्षण गर्न यस रेष्टुरेण्टमा जिल्लामा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुको स्केच चित्र समेत तयार गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाही, विश्व किर्तीमानी हिमाल आरोही निर्मल पूर्जा, वरिष्ठ गायक खड्क गर्बुजा, संगीतकार दिपक शर्मा, चर्चित लोक दोहोरी गायक प्रकाश दुतराज, मोडल सुधिर श्रेष्ठ र चर्चित मोटो भ्लगर विविध जंग थापा लगायतका व्यक्तिहरुको चित्र कोरिएको छ ।