‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)

  • ५ आश्विन २०७९, बुधबार
  • कमल खत्री
  • 597 पटक पढिएको

बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो ।

कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका अभियान्ता मनबहादुर खत्रीको टोलीले ‘रिसेका’ पदमार्गको समेत अध्ययन गरेको हो । भदौ अन्तीम सातादेखि असोज ३ गतेसम्म म्याग्दीको चिमखोला, कुइनेमंगले हुँदै मुस्ताङको कालापानी सम्मको रिसेका पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको खत्रीले बताउनुभयो ।

उहाँका अनुसार, धौलागिरि हिमालको दक्षिण आधारशिविर जाने सेञ्चुरी पदमार्ग, कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार र चिमखोलाको कालीबराह ताल क्षेत्र र मुस्ताङको लेते जोड्ने गरि नयाँ पदमार्गको खोजी गरिएको हो । यस पदमार्ग अन्तरगत कुइनेमंगलको पात्लेखर्कबाट पदमात्रा सुरु गरि रिखार–रुरुचौर–मानापाथि आधार शिविर–धौलागिरि दक्षिण आधार शिविर–आईसफल भ्यु पोइन्ट–कालिबराह ताल र त्यहाँबाट मुस्ताङको कालापानी निस्कन सकिने गरि पदमार्गको पहिचान गरिएको खत्रीले बताउनुभयो ।

बेनीबाट एक साताको पदयात्रा गर्न सकिने गरि पदमार्गको पहिचान गरिएको र यसलाई नक्साङ्कनको तयारी गरिएको उहाँको भनाई छ । यस पदमार्गमा धौलागिरि आइसफल पदमार्गको साथै धौलागिरि पदमार्गको सिंकोसबगर, मल्कबाङको च्यामलीडाँडा, चौरवन हुँदै रिखार जोड्ने परम्परागत भेडीगोठ मार्ग र कालीबराहदेखि पहेलीबराह, ठुलीमेला, मुली, घ्वाङखर्क, खल्मी, टकसार हुँदै मुस्ताङको कोवाङ जोड्ने परम्परागत चौरी मार्ग समेत जोडिन्छन् ।

हिमाली भुगोललाई समेटिएको यो पदमार्ग अन्य पदमार्गको तुलनामा शाहसिक हुने पर्यटनविद्हरु बताउँछन् । पदमार्ग अन्तरगत सबैभन्दा अग्लो स्थान ४ हजार ९ सय मिटर उचाईको बाँझोखर्क, भ्यु–पोइन्ट लगायतबाट लोभलाग्दो दृष्यहरुको अवलोकन गर्न सकिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका हिमालहरुको अवलोकनका साथै हिमाली भेगमा रहेका भेडा र चौरीका गोठ, बन्यजन्यु, चराचुरुङ्गी, जडिबुटी, हिमाली भुगोल पर्यटकहरुको लागि थप आकर्षणको रुपमा रहेका छन् ।

धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गको डिपिआर नै तयार गरिएको अवस्थामा दुबै पदमार्गलाई समेट्दै छुटेका गन्तव्यहरुलाई समेत समेट्ने रिसेका पदमार्गले यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l